
जनकपुरधाम – २ नम्बर प्रदेशमा बाढी तथा डुबानका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
कृषिमा मात्र करीब १ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । ७७ हजार हेक्टरमा लगाइएको बाली नष्ट भएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विजयचन्द्र झाले बताए ।
पशुपन्छीतर्फ समेत ८९ हजार २ सय ८९ वटा पशु बगेर मरेका र घाइते भएका छन् । १ अर्ब ६२ करोड ३ लाख रुपैयाँ बराबरको क्षति पशुपन्छीतर्फ भएको जनाइएको छ ।
प्रदेशका कृषि ज्ञान केन्द्र, पशु अस्पताल र विज्ञ केन्द्रले संकलन गरेको प्रारम्भिक क्षतिको विवरण क्षतिपूर्तिका लागि प्रदेश सरकारको कृषि मन्त्रालयले संघीय सरकारलाई पठाइसकेको छ ।
‘हाम्रो मन्त्रालयको मन्त्रिस्तरीय निर्णय गरेर कृषि तथा पशुपन्छी क्षेत्रमा प्रदेशको बाढी प्रभावित क्षेत्रहरूमा भएको क्षतिको विवरण संकलन गरेर राहत प्रदान गर्नका कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबार काठमाडौंमा पठाइएको छ,’ सचिव झाले भने ।
कुन जिल्लामा कति क्षति ?
प्रदेश सरकारको कृषि मन्त्रालयले संकलन गरेको अभिलेख अनुसार धनुषामा १० वटा गाई, १५ वटा भैंसी, १५ वटा बाख्रा, ५ सय कुखुरा बगेर मरेका छन् । १ सय हेक्टरमा लगाइएको पोक्रौको माछा बगेको छ भने थुप्रै आहारा गोठमा समेत क्षति पुगेको छ । कृषितर्फ धनुषामा धानको पूरै बेर्ना डुबेर क्षति भएको छ भने १ हजार हेक्टरमा लगाइएको तरकारी खेती नष्ट भएको छ ।
महोत्तरीमा १ सय ५० हेक्टरमा धान खेती, २० हेक्टरमा मकै खेती, ५० हेक्टरमा तरकारी खेती तथा ८ हेक्टरमा अन्य खेती नष्ट भएको छ । त्यहाँ पशुपन्छी तर्फको क्षतिको विवरण हालसम्म संकलन गर्न सकिएको छैन ।
सर्लाहीमा २ सय हेक्टरमा धान खेती, १ सय हेक्टरमा मकै खेती, ८५ हेक्टरमा तरकारी खेती, १५ हेक्टरमा अन्य खेती नष्ट भएको छ । २ सय हेक्टर पोखरीको माछा, ११ हेक्टरको घाँस खेती र ५ हजार १ सय ४५ वटा कुखुरा बगेर नष्ट भएका छन् ।
रौतहटमा ठूलो चौपाया अन्तर्गत गाई, भैंसी, गोरु ५ सय, बाख्रा ७ सय, ४ सय हेक्टर पोखरीको माछा, ५० हजार कुखुरा, १५ हजार हाँस बगेर नष्ट भएका छन् । १६ हजार हेक्टरको धान बाली, १ सय ८० हेक्टरको धानको बेर्ना, ३ सय १० हेक्टरको चैते धान, ४५ हेक्टरको मकै बाली, २ हजार ७ सय हेक्टरको तरकारी खेती र २ सय ३० हेक्टरको फलफूल खेती नष्ट भएको छ । सबैभन्दा बढी क्षति रौतहट जिल्लामा भएको जनाइएको छ ।
बारा र पर्सा जिल्लामा ३४ वटा बाख्रा, १ सय ३० हेक्टर पोखरीको माछा, आहारा लगायतको क्षति भएको छ । २ सय ६७ हेक्टर खेतमा रोपाइँ भएको धान, १२ सय ५० हेक्टरमा चैते धानको बाली, ७१ हेक्टरमा धानको बेर्ना, १ सय ७ हेक्टरमा तरकारी खेती, ४६ हेक्टरमा मकै खेती र २ सय ३१ हेक्टरको सञ्चित अनाज नष्ट भएको छ ।
सिरहा र सप्तरीमा १० हजार ५ सय कुखुरा, १५ सय हाँस, २ सय २५ गाई, १ सय १० भैंसी, १२ हजार बाख्रा, खसी, बोका नष्ट भएका छन् । ५० लाख रुपैयाँ जतिको पराल, भुस र घाँस समेत क्षति भएको छ । १४ सय हेक्टरमा पालिएको माछा, ३ करोड रुपैयाँको माछा भुरा, २८ सय मेट्रिक टन तयारी माछा र ५० लाख रुपैयाँको अन्य दाना नष्ट भएको छ ।
संकलन गरिएका तथ्यांक प्रारम्भिक मात्र रहेकाले त्यसको तथ्यांक बढ्न सक्ने कृषि मन्त्रालयका सचिव झाले बताए ।