
काठमाडौं, १४ चैत - भारतीय अर्थतन्त्रमा मौलाएको कालो धनमाथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हानेको ‘सर्जिकल स्ट्राइक’को प्रत्यक्ष असर नेपालमा परिरहेको छ । भारतले भारतीय एक हजार र पाँच सय मुल्यको नोट नचल्ने घोषणा गरेको थियो ।
रातारात नयाँ नोटको व्यवस्था गरेर भारतले केही दिनको समयसिमा तोकेर आफ्नो देशमा रहेका नागरिसँग भएका पुराना नोट साट्यो । थोरै थोरै रकम हुनेले सजिलै साटे । धेरै रकम हुनेहरूले आयश्रोत देखाएर साटे भने कालो धन कुम्ल्याएकाहरूसँग भएका नोट कागजी खोस्टामा परिणत भए ।
भारतले आफ्नो देशमा भएको समस्या त लगभग सल्टाइसकेको छ । तर भारु चल्ने अन्य राष्ट्रमा चाहिँ भारतले मोदीले हानेको स्ट्राइको असर परिरहेको छ । नेपाल र भारतका बीचमा भएको दुई पक्षिय सहमति अनुसार नेपालमा पनि एक व्यक्तिले २५ हजार भारतीय रुपैयाँ सम्म बोक्न पाउने व्यवस्था थियो ।
सोही सम्झौता अनुसार नेपालीहरुले पनि भारतीय रुपैयाँ बोकिरहेका थिए । नेपालका सिमावर्ती जिल्लामा रहेका नागरिकहरूसँग त थुप्रै रुपैयाँ भएको अनुमान समेत गरिन्छ । नेपालमा अहिले सम्म के कति भारु नोट छन् भनेर आँकलन गर्न सकिएको छैन । तर नेपालमा बैंकिङ प्रणाली बाहिर अर्बौं रुपैयाँ भएको अनुमान गरिएको छ ।
भारतले नेपालमा रहेको रुपैयाँ साट्ने बचन दिइरहेको थियो । सोही अनुसार नेपालबाट आएको भारतीय रिजर्भ बैंकको उच्चस्तरीय टोलीसँग नेपाल राष्ट्र बैंकले वार्ता गर्यो । भारतले एक व्यक्तिसँग भएको ४५ सय भन्दा बढी भारु साट्न नसक्ने अडान लियो । नेपालले पहिलेको ‘अन्डरस्ट्यान्डिङ’ अनुसार एक व्यक्ति बराबर २५ हजार भारु साट्न अनुरोध गर्यो । तर भारतीय पक्षले सो अनुरोधलाई स्वीकार गरेको छैन ।
भारतले मार्च महिना पछि चाहिँ नोट नसाट्ने बताएको छ । नेपालको बैंकिङ प्रणालीभित्र करिब आठ अर्ब रुपैयाँ रहेको अनुमान गरिएको छ । भारतीय पक्ष र नेपाली पक्षका अधिकारीबीच कुरा नमिलेपछि भारु वार्ता हाललाईरोकिएको छ ।
नेपाली पक्षले नेपालमा रहेको कति भारु साट्ने हो सो को जवाफ दिनको लागि भारतीय पक्षलाई अनुरोध गरेको छ । अब भारतले लिखित जवाफ दिएपछि भारु वार्ता फेरी सुरु हुने छ ।