१० असार २०८३, बुधबार

आगोमा परेर घाइते शिशुको तरुण दलद्वारा उद्धार

आगोमा परेर घाइते शिशुको तरुण दलद्वारा उद्धार

खोटाङ – घर आँगनको आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लंखाका ५ महिने शिशु प्रवीण राईको उद्धार गरिएको छ ।

गत असार २७ गते आफ्नै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतवार उद्धार गरेको हो । 

खर्च अभावमा सुविधा सम्पन्न अस्पताल जान नसकेका घाइते शिशुका आमा निर्मला राईलाई तरुण दलका जिल्ला अध्यक्ष भीषण राईले चन्दा संकलन गरेर जम्मा भएको १ लाख १३ हजार ३६५ रुपैयाँ हस्तान्तरण गरेका छन् ।

घाइते प्रवीणलाई जिल्ला अस्पताल दिक्तेलमा ल्याए पनि आवश्यक उपचार नभएको र खर्चसमेत नभएकाले घर फर्कने तयारी गरिरहेको अवस्थामा थप उपचार गराउन तरुण दलले चन्दा संकलन गरेको हो ।

खर्च नहुँदा ३ दिनदेखि अस्पतालमा गम्भीर घाइते बनेका शिशुलाई राखिएको जानकारी प्राप्त भएपछि चन्दा उठाएर आइतवार साँझ नै काठमाडौंस्थित कान्ति बाल अस्पताल पठाइएको अध्यक्ष राईले बताए ।

‘यातायात व्यवसायीलाई आग्रह गरेर घाइते बच्चा र आमालाई गाडीमार्फत निःशुल्क काठमाडौं पठाइएको छ,’ उनले भने, ‘उनीहरूलाई सम्पर्क गर्न मोबाइल सेट र सिमसमेत खरीद गरेर प्रदान गरिएको छ ।’

काठमाडौंमा पनि नेपाली कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिले शिशुको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाइएको छ । कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन देवकोटा लगायतको उपस्थितिमा तरुण दलले सहयोग रकम हस्तान्तरण गरेको हो । 

प्रवीणको उपचारमा रावाबेंसी गाउँपालिकाका किरण राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका हरि राईले संकलन गरेको ११ हजार ५५ रुपैयाँ समेत आइतवार नै उनका आमा निर्मलालाई प्रदान गरिएको छ । 

आगोमा परेर गम्भीर घाइते बनेका प्रवीणको दायाँ र बायाँ दुवै हातको हत्केलामाथिको भाग डढेर डल्लो परेको छ भने निधारमाथिको भागसमेत डढेको छ । ३ छोरी र ६ छोरामध्ये घाइते प्रवीण कान्छो सन्तान हुन् ।

salt training

कमेन्ट गर्नुहोस्