
काठमाडौं – वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम सोमवार बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।
सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम बाघ पाइने चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गर्न लागेको उनले बताए ।
पाटेबाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।
प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या १ सय २१ लाई दोब्बरभन्दा पनि बढी २ सय ५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको प्रवक्ता श्रेष्ठले बताए ।
मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको संख्या २ सय ३५ पगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।
विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो । नेपालले विक्रम संवत् २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्यांक छ ।
सन् २०१६ को तथ्यांकअनुसार सबैभन्दा बढी भारतमा २ हजार २२६, सबैभन्दा कम लाओसमा २ बाघको संख्या छ । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बंगलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको संख्या भने ३ हजार ८ सय ९० रहेको छ ।
नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १ सय ६१ वर्गकिलोमिटर क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्यांकमा उल्लेख छ ।
मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको संख्या दोब्बर (२५० वयस्क बाघ) पुर्याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ । – भीष्मराज ओझा/रासस