०९ असार २०८३, मंगलबार

निर्मलाका हत्यारा दिलिपसिंह विष्ट हुन सक्छन् तर प्रमाण पुगेन : गृहमन्त्री थापा

साउन १३, २०७६
निर्मलाका हत्यारा दिलिपसिंह विष्ट हुन सक्छन् तर प्रमाण पुगेन : गृहमन्त्री थापा

काठमाडौं – निर्मलाको हत्यारा दिलिपसिंह विष्ट हुनसक्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । 

सोमवार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा समितिले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्रीले थापाले निर्मलाको हत्यारा दिलिपसिंह विष्ट हुनसक्ने बताएका हुन् ।

थापाले भने, ‘दिलिपसिंह विष्टविरुद्ध धेरैजसो प्रमाण छन् तर डीएनए रिपोर्ट नमिल्दा अपराधी उहीँ नै भन्न सकेका छैनौं ।’

निर्मला हत्या अनुसन्धानमा प्रहरीबाट गल्ती भएको स्वीकार्दै गृहमन्त्री थापाले केही कमीकमजोरी भएको यस्ता कमीकमजोरी गर्ने प्रहरीलाई कारवाही तथा निलम्बन समेत गरेको बताए ।

राष्ट्रिय सभाका सांसद विमलादेवी आले (राना), राधेश्याम अधिकारी र चन्द्रबहादुर खड्काले ‘निर्मलाको हत्या भएको १ वर्ष पुगिसक्दा पनि किन प्रहरीले हत्यारा लगाउन सकेको छैन ? हाइप्रोफाइल हत्यारा खोज्दा बिग्रिएको हो ? दिलिपसिंह विष्टमाथि धेरै प्रमाण जुटिसक्दा पनि किन दिलिपलाई हत्यारा घोषित गर्न सकेको छैन ? के डीएनए नमिलेकै आधारमा प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको हो ? अनुसन्धानको नाममा अन्य व्यक्तिलाई दुःख दिन पाइन्छ ?’ भनेर प्रश्न गरेका थिए । 

प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मलाको हत्यारा पत्ता लगाउन धेरै मानिससँग सोधपुछ र अनुसन्धान गरिएको बताए । केही अनुसन्धान जटिल भएकाले निचोडमा पुग्न ढिला भएको उनले बताए ।

मन्त्री थापाले अनुसन्धान तथा छानबिन गर्ने विभिन्न तरिका हुने भएकाले हालसम्मको अनुसन्धानले हत्यारा पत्ता नलागेकाले नयाँ ढंगले अनुसन्धान थालिएको बताए ।

मन्त्री थापाले भने, ‘हामीले यसभन्दा अगाडि जुन निकाय (समिति/उपसमिति) लाई अनुसन्धान गर्न दिएका थियौं, त्यो निकायले हत्यारा पत्ता लगाउन नसकेकाले नयाँ ढंगबाट अनुसन्धान थालेका छौं ।’

सीआईबी तथा प्रहरीले अनुसन्धान गरिरहेको र उनीहरूले हत्यारा पत्ता लगाउनेतर्फ विश्वास रहेको मन्त्री थापाले बताए ।

गृहमन्त्री थापाले पूर्व राजदूत केशव झाको हत्या, सांसद निरुदेवी पालमाथि भएको दुर्व्यवहार र संगीन जीसीको हत्या घटनाका अभियुक्त पत्ता लगाउने आश्वासन दिएका छन् ।

२०७५ साउन ११ गते बिहान साढे ९ बजे कञ्चनपुरकी बालिका १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो । साउन १० गते साथी आँचल (रोशनी) बमको घर जान्छु भनेर निस्किएकी निर्मला अर्काे दिन ११ गते उखुबारीमा अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् ।

मुख्य अभियुक्त भन्दै दिलिपसिंह विष्टलाई २०७५ भदौ ४ गते प्रहरीले हत्यारा भएको भन्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो तर डीएनए रिपोर्ट नमिलेको भन्दै विष्टलाई भदौ २६ गते साधारण तारेखमा छोडेको थियो । घटना अनुसन्धानमा लापरवाही गरेको भन्दै निलम्बित सीआईबीका डीएसपी अंगुर जिसीले विष्ट नै अभियुक्त भएको भन्दै जिकिर गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्