०९ असार २०८३, मंगलबार

धुलो र हिलोले मेटायो नगरकोटको पहिचान

धुलो र हिलोले मेटायो नगरकोटको पहिचान

काठमाडौँ - सूर्योदयको दृश्यावलोकनका लागि नेपालमा मात्र नभई विश्वमै प्रसिद्धि कमाएको नगरकोट हाल धुलो र हिलो उदय गराउने थलोका रुपमा पहिचान फेर्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमशृृङ्खला, वरिपरि देखिने सुन्दर एवं हरिया डाँडा र उपत्यकाको सबैजसो भाग हेर्न पाउनु नगरकोटको अर्को आकर्षण हो ।

यही आकर्षणले छ वर्ष अघिसम्म नेपाल आउने प्रायः पर्यटक नगरकोट पुग्ने गर्दथे । छ वर्षअघि शुरु भएको कमलविनायक–तेलकोट–नगरकोट १७ किमी सडक विस्तार, स्तरोन्नति र कालोपत्रको काम तीन पटक म्याद थपिँदा पनि ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन ।

सडक निर्माणमा प्रगति हुन नसकेपछि पर्यटकीयस्थलको यो मार्ग धुलो र हिलो उदय गराउने स्थलका रुपमा विश्वमै बदनाम हुन लागेकामा स्थानीयवासी चिन्तित छन् । चाँगुनारायण नगरपालिकाकै गौरवको रुपमा रहेको नगरकोटमा जीर्ण सडकका कारण पर्यटक आवागमन घट्न थालेको छ ।

नगरकोट जाने पर्यटक धुलिखेललगायत अन्यत्र जान थालेपछि यहाँको पर्यटन व्यवसाय धराशायी बन्न पुगेको छ । रोजगारीको अवसर गुमेपछि हजारौं स्थानीयवासीलगायत कामदारलाई विदेशमा श्रममा बेच्न बाध्य बनाइँदैछ । सडकको दुरावस्थाका कारण पर्यटक धुलिखेलका साथै देशका अन्य भागमा जान थालेपछि नगरपालिकाले प्रतिनिधिसभाको विकास तथा प्रवधि समितिमा उजूरी ग¥यो ।

नगरपालिकाले उजूरी गरेपछि आइतबार समितिको समूहले स्थलगत रुपमा यो सडकको अनुगमन ग¥यो । अनुगमनपछि सभापति कल्याणीकुमारी खड्काले राजधानीमै रहेको देशको प्रमुख पर्यटकीय स्थलमध्ये पर्ने नगरकोट जाने सडकको यो अवस्था हुनुमा जिम्मेवार सबै निकायका अधिकारीलाई कारवाहीका लागि समितिले निर्णय गर्ने चेतावनी दिइन् ।

'पूर्व तयारीका काम नगरी सडक ठेक्का लगाउने, ठेक्का लागेको सडकमा निर्माण व्यवसायीले समयमा काम शुरु नगर्ने, ठेक्का लागेको छ भनी मर्मत नहुँदा ठूला खाडल बनी सडकमा आवतजावत गर्न नसकिने अवस्था छ, यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन,' उनले भनिन् ।

ठेक्का सम्झौता हुने बित्तिकै २० प्रतिशत ठेक्कावापत दिइएको रकम 'मोबिलाइजेसन' लिएर निर्माण व्यवसायीले अन्यत्र उपयोग गर्दा पनि समस्या आइपर्ने गरेको सभापति खड्काले सुनाइन् । समितिले पूर्व तयारी नगरी ठेक्का नगर्न सरकारलाई निर्देशन दिइसकेकाले अब कारवाही गर्ने भएको छ ।

आयोजनाका कागज टेबलमा राखेर लामो समय निर्णय नदिने अधिकारीलाई पनि कारवाहीको दायरामा ल्याउने निर्णय समितिले गरेको छ । सडक तलबाट माथितिर निर्माण भइरहेको छ । तलबाटमाथि बनाउने कि माथिबाट तल प्राविधिक रुपमा के सही हो भन्ने आयोजनाले निर्णय गर्नुपर्ने उनले बताइन् । सडक आयोजनाको चौमासिक कार्ययोजना समितिमा पेश गर्न पनि नगरकोटमा भएको अन्तक्र्रियापछि सभापति खड्काले निर्माण व्यवसायी र आयोजना कार्यालयलाई निर्देशन दिइन् ।

सांसद महेश बस्नेतले सन् २०२० को नेपाल भ्रमण वर्षअघि नै यो सडक निर्माण सम्पन्न नभए देशले घाटा व्यहोर्नुपर्ने बताए । सडक बिग्रेका कारण नगरकोटले यसअघि दुई ठूला अवसर गुमाएको उल्लेख गर्दै उनले भक्तपुरका पाँच अलपत्र आयोजनामध्ये चारको समाधान जिल्लास्तरबाटै भएको सुनाए ।

'कमलविनायक–नगरकोट आयोजनालाई जिल्लाको दबाबले भ्याएन, यो भिरालोको सडक भएकाले कालोपत्रमाथि आसफाल्ड राखिनुपर्छ, सडक विस्तारका लागि जग्गा लिँदा पर्खाल लगाउनुपर्छ भनी तलको लागत अनुमान नगरी माथिको मात्र काट्ने प्राविधिक प्रतिवेदन बनाउँदा पनि काममा अवरोध भएको छ,' सांसद बस्नेतले भने । पूर्णप्रसाद मिश्र/रासस

salt training

कमेन्ट गर्नुहोस्