१७ असार २०८३, बुधबार

वैदेशिक रोजगारीमा गएकाहरुलाई खुसीको खबर, परिवारका सदस्य विरामी भए आर्थिक सहयोग पाइने

कात्तिक २०, २०७४
वैदेशिक रोजगारीमा गएकाहरुलाई खुसीको खबर, परिवारका सदस्य विरामी भए आर्थिक सहयोग पाइने

काडमाडौं, १४ चैत– वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा पाँच रोगका लागि मात्रै यस्तो सुविधा तय गरिए पनि पछि यसलाई विस्तार गर्दै जाने तयारी गरिएको जानकारी दिए ।

क्यान्सर, मृगौला, मुटुलगायतका रोग लाग्दा राज्यले दिने भनि यसअघिनै घोषणा गरेका सुविधा लिएकाहरुले समेत छुट्टै यो रकम सहयोग स्वरुप पाउनेछन् । बोर्डबाट सुविधा लिएकै कारणले त्यस्ता बिरामीले राज्यबाट पाउने अन्य सुविधाबाट वञ्चित हुनुपर्ने छैन ।

कामदार आफैले पालनपोषण गर्नुपर्ने पतिपत्नी, छोराछोरी, आमाबुबा र महिला कामदारको हकमा निजको सासू, ससुराले समेत यस्तो सुविधा पाउने छन् ।

बोर्डले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावलीको नियम २६को उपनियम ९१० को खण्ड (ख) अनुसार स्वास्थ्य उपचारमा सहयोग गर्न र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्य सञ्चालन निर्देशका, २०६८ को प्रकरण (३) को व्यवस्थाको कार्यान्वयनका लागि ‘कामदारका परिवारको स्वास्थ्य उपचार सम्बन्धी मापदण्ड, २०७३’ पारित गरेको छ ।

वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाई यस्ता रोग लागेमा बोर्डले सो रकम उपलब्ध गराउने मापदण्डमा उल्लेख छ ।

यसअघि पनि २५ हजार रुपैयाँसम्म परिवारका सदस्यलाई उपचार खर्च उपलब्ध गराउने व्यवस्था रहेपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

बोर्डका कार्यकारी निर्देशक काफ्लेले यस पटक यो मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाएका छन् । कामदारलाई राज्यकातर्फबाट प्रदान गर्ने सेवा, सुविधामा बढोत्तरी गर्दै लैजाने नीति बमोजिम यो सुविधा प्रदान गर्न लागिएको उनको भनाइ छ ।

रोगको अवस्थाका आधारमा सामान्य, मध्यम र गम्भीर गरी तीन तहमा विभाजन गरिएको छ । शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा ५० हजार रुपैयाँ उपलब्ध गराइने मापदण्डमा उल्लेख छ । यस मापदण्ड बमोजिम उपचार खर्च पाउन बोर्डको सचिवालयमा सम्बन्धी व्यक्तिले निवेदन दर्ता गराउनु पर्नेछ ।

निवेदन दिँदा कामदारको श्रम स्वीकृतिको निस्साको प्रतिलिपि, कामदारको राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कामदार र बिरामीबीचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग स्पष्ट रुपमा खुल्नेगरी सरकारी अस्पताल वा मान्यताप्राप्त चिकित्सकको ‘प्रेस्किप्सन’ वा सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

कामदारको करार अवधि सकिएको अवस्थामा भने निजको परिवारले उपचार खर्च पाउने छैन ।

salt training

कमेन्ट गर्नुहोस्