
तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिकाले पहिलो पटक वडाबाटै अपाङ्गता परिचयपत्र वितरण शुरू गरेको छ ।
परिचयपत्र वितरण गर्ने अधिकार स्थानीय तहमा आएपछि नगरपालिकाले प्रत्येक वडावडामै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ ।
नगरपालिकाको वडा नम्बर ३, ११ र १२ का १२६ लाई तथा वडा नम्बर ३ मा ४२, ११ मा ५१ र १२ मा ३३ जनालाई रातो, निलो र पहेंलो रंगको उक्त परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
‘अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७५ बमोजिम गठित स्थानीय समन्वय समितिको निर्णयअनुसार नगरमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरू गरेका हौं,’ उपप्रमुख सविता रसाइलीले भने ।
परिचयपत्र वितरणका लागि गत जेठ ८ र ९ गते शारीरिक अवस्था जाँच गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र कार्यविधि–२०७५ अनुसार यसअघि परिचयपत्र लिइसकेका व्यक्तिहरूले पनि आगामी १ वर्षभित्र कार्यविधिअनुसार परिचयपत्र लिनुपर्ने उल्लेख छ ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई क, ख, ग र घ गरी ४ समूहमा विभाजन गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिललाई नीलो, मध्यम अपाङ्गता भएका व्यक्तिलाई पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिलाई सेतो रङको परिचयपत्र उपलब्ध गराइएको थियो । कूल ४६० को निवेदन परेकामा शुक्लागण्डकी नगरपालिका अपाङ्गता समन्वय समितिले कार्यविधिको आधारमा ३४१ जनालाई परिचयपत्र वितरण गरिने भएको छ ।