
काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि बधाई दिनेको ओइरो लागेको छ ।
भट्टराईका समकक्षी राजनीतिज्ञ नेपाली कांग्रेसका नेता गगन थापाले भट्टराईको सफलता नयाँ पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको भन्दै शुभकामना दिएका छन् ।
फेसबुकमा एक स्ट्याटस लेख्दै गगनले भने, 'दाइ ! संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस् । मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको छ । मुरी मुरी शुभकामना ।
त्यस्तै नेकपाका अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि भट्टराईलाई मर्मस्पर्शी शुभकामना दिएका छन् । भट्टराईले आजसम्म लिएका सबै जिम्मेवारी पूरा गरेको भन्दै पर्यटनमन्त्रीका रूपमा पनि त्यही अनुसार जिम्मेवारी पूरा हुनेछ भन्ने अपेक्षा भुसालको छ ।
बुधवार फेसबुकमा एक स्ट्याटस लेख्दै भुसालले भने, 'कमरेड योगेश भट्टराई, तपाईंलाई बधाई छ । तपाईंले आजसम्म लिएका हरेक ज़िम्मेवारी जुन शानका साथ पूरा गर्नु भएको छ, यो ज़िम्मेवारी पनि त्यही योग्यताका साथ सम्पन्न हुनेछ । हामी आफैंले बनाएका र कबुलेका मूल्यहरूले हामीलाई यहाँसम्म टिकाएका छन् । र, हामी जानुपर्ने टाढा छ ।'