
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार अपराह्न आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नव नियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सो मन्त्रालयको कार्यभार सम्हाल्दै आएकोमा भट्टराईले जिम्मेवारी पाएका हुन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुुङमा भएको हेलिकप्टर दुुर्घटनामा निधन भएको थियो । यसपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । साथै संवैधानिक निकायमा प्रमुख, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, सांसद तथा नेकपाका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागी थिए । ताप्लेजुुङ जिल्लाबाट प्रतिनिधिसभाका निर्वाचित भट्टराई पहिलो पटक मन्त्री बनेका हुन् ।
यसैबीच नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गर्ने बताएका छन् ।
बुधबार मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित स्वागत समारोहमा मन्त्री भट्टराईले भने, “तपाईहरुले मलाई काम लगाउनुहुनेछ, कस्तो काम गर्दा मुलुकको इज्जत बढ्छ, प्रधानमन्त्रीले र जनताले सोचेको अपेक्षा पूरा हुन्छ, के गर्दा चुनौतीमाथि सफलता हासिल हुन्छ, भोलिका दिनमा विषयगत हिसाबले छलफल गरेर जानेछु ।”
केही दिनभित्रैमा प्रधानमन्त्रीसमक्ष मन्त्रीको हिसाबले कामको करार सम्झौता गर्ने उल्लेख गर्दै मन्त्री भट्टराईले भने, “हामी जे गर्न सक्छौँ, त्यो कुरा भन्छौँ, जे हुन सक्दैन, त्यो के कारणले भएन भनेर पारदर्शी ढङ्गले बताउने छौँ ।” निर्देशन कम हुने र सामूहिक निर्णयबाट अघि बढ्ने बताउँदै उनले प्रधानमन्त्रीले राखेको आशा र अपेक्षा पूरा गर्र्ने उल्लेख गरे ।
कुनै पूर्वघोषित कार्यक्रम नभई परिस्थितिले आफू मन्त्री हुन आइपुगेको प्रष्ट्याउँदै उनले कसैलाई काम लगाउन होइन काम सिक्न आएको बताउ । राष्ट्रिय गौरवका आयोजनालाई समयमै सक्ने तथा सन् २०२० को नेपाल भ्रमण वर्ष साकार पार्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए ।
१६१ माथि व्यावसायिक फर्ममाथि कारवाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७५÷०७६ मा उपभोक्तामाथि ठगी गर्ने १६१ व्यावसायिक फर्ममाथि कारवाही गरेको छ । उपभोक्ता अधिकार उल्लङ्घन गर्ने ती व्यवसायीमाथि कारवाही गरी विभागले रु ४३ लाख २१ हजार जरिवाना गरेको छ ।
विभागले आर्थिक वर्ष २०७५÷०७६ मा एक हजार ६६१ व्यावसायिक फर्मको अनुगमन गरेको थियो । सरकारले गत असोज महीनामा उपभोक्ता संरक्षण ऐन जारी गरेपछि विभागले अनुगमनलाई कडाइ गरेको थियो । विभागले खाद्यान्न, लत्ताकपडा, पेट्रोलपम्पलगायत उपभोक्ताको दैनिक जनजीवनमा प्रभावित हुने क्षेत्रको अनुगमनलाई तीव्रता दिएको थियो ।
उपभोक्तामैत्री ऐन जारी भएसँगै बजारलाई व्यवस्थित, मर्यादित र सन्तुलित बनाउन अनुगमनलाई तीव्रता दिइएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
धितोपत्र बजार
धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा बुधबार पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले बढेर २७३.२४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने औशत नै रह्यो । स्टकका अनुसार बुधबार १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर रु ३५ करोड ७८ लाख ३६ हजार १८५ मा खरीद बिक्री भए ।
कारोबार भएका १२ उपसमूहमध्ये विकास बैंकको शेयर ०.८४ अङ्कले ओरालो लाग्यो । स्टकका अनुसार बैंकिङ २.०३, व्यापार ३.२२, होटल ५.७३, जलविद्युत् ०.१७, वित्त २.२२, निर्जीवन बीमा ५३.९६, उत्पादन १३.३२, अन्य २.२८, लघुवित्त ५२.४५, जीवन बीमा ४६.५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले वृद्धि भएको छ ।
कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु दुई करोड ८४ लाख २० हजार ७२२ मा खरीद बिक्री भए । कृषि विकास बैंकको शेयर रु एक करोड ८३ लाख ८५ हजार ७१९, प्रभु बैंक रु एक करोड ५० लाख १२ हजार ५२, युनाइटेड इन्स्योरेन्स कम्पनी रु एक करोड ३८ लाख ४२ हजार ३६५ र शिवम् सिमेन्टको शेयर रु एक करोड २७ लाख ९३ हजार ४६० मा खरीद बिक्री भए ।
आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवविरुद्ध बुधबार विशेष अदालतमा अरोपपत्र दायर गरेको छ ।
निज सिडिइ यादवले भोजपुरको षडानन्द नगरपालिका–१३ बोयामा रहेको छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु एक लाख ८० हजार घुस लिएको आयोगले जनाएको छ । आयोगले सोही रकम बराबरको बिगो माग दाबी गर्दै आरोपत्र दायर गरेको हो ।
गोली हान्ने प्रहरीसँग बयान
राष्ट्रिय मानव अधिकार आयोगले चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई गोली हानेका प्रहरी अधिकृत तथा जवानहरूसँग बुधबार बयान सुरु गरेको छ । पहिलो दिन आयोगले बिहान ८ बजेदेखि साँझ अबेरसम्म ६ जना प्रहरीसँग बयान लिएको छ । घटनामा प्रत्यक्ष संलग्न अन्य ६ जनालाई बिहीबार बोलाइएको छ ।
बयानका क्रममा एक प्रहरी अधिकारी मुठभेड भएको दाबी गर्दै आफूले पौडेलमाथि ६ गोली हानेको स्वीकार गरेका छन् । ‘हानाहान भएको भए तपाईँलाई चाहिँ किन गोली किन लागेन त ?’ आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले ती अधिकारीलाई सोधेका थिए । ‘मैले गोली छलें,’ उनको जवाफ थियो । पौड्यालले ‘गोली हान्दा पौडेल र तपाईंबीचको दूरी कति थियो ?’ भनेर सोध्दा ती अधिकारीले दुई मिटर रहेको बताएका थिए । प्रहरी अधिकारीको जवाफपछि आयोगले दुई मिटरको दूरीमा गोली छल्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको निरूपण गर्नुपर्ने भएको छ ।
आयोगको निर्देशनअनुसार बयानमा आएका प्रहरीले गोली लागेपछि ढलेका पौडेलको तस्बिर पनि ल्याएका थिए । त्यसमा पौडेलको जीउ थिलथिलो हुने गरी कुटपिट भएको प्रस्ट देखिने प्रमाण रहेको आयोगले जनाएको छ । ‘पौडेललाई गोली हान्नुअघि समातेर कुट्नुविधि कुटेजस्तो तस्बिरमा देखिन्छ,’ आयोगका एक अधिकारीले भने, ‘पौडेलको मृत्यु भिडन्तमै भएको हो भन्नेमा शंका गर्नुपर्ने प्रशस्त ठाउँ छन् ।’ आयोगले पटकपटक ताकेता गर्दा पनि पोस्टमार्टम रिपोर्ट नपठाएका जिल्ला अस्पताल सर्लाहीका डा वीरेन्द्रकुमार मण्डललाई पनि बयानमा बोलाउने सुरसार गरेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध
बाढी र पहिरोका कारण देशभरका विभिन्न सडक अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा सरकारले जनशक्ति र उपकरणको प्रयोग गरेर खुलाइरहे पनि पनि ठूला पहिरो गएको, सडक नै भासिएको लगायतका समस्या आउँदा तुरुन्त सडक सञ्चालनमा आउन नसकेको हो ।
निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै ठाउँमा स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । यो सडकमा पटकपटक हटाउँदा पनि माथिबाट पहिरो आउन नरोकिएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए ।
ललितपुरको लाँकुरी भञ्ज्याङ–मानेदोभान सडक माथिबाट गएको पहिरोका कारण गत बिहीबार अवरुद्ध भएको थियो । सडक अझै सञ्चालन हुन नसकेको विभागले जनाएको छ । सातदोबाटो–धापाखेल दुई साता पहिले भासिएको थियो । दुई लेनको सडक अहिले एक लेन सञ्चालनमा छ भने एउटा लेनअवरुद्ध छ । छम्पी–टीका भैरव सडक माथिबाट आएको पहिराकै कारण झण्डै दुई सातादेखि अवरुद्ध रहेको थियो भने हाल सो सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा अवरुद्ध रहेको छ ।
कर्णाली राजमार्गको काने खोलाले करीब ३० मिटर सडक बगाउँदा त्यहाँको सडक गत १२ गतेदेखि अवरुद्ध छ । त्यस्तै बेंसीशहर मनाङ सडक पनि पहिराकै कारण गत बिहीबारदेखि अवरुद्ध रहेको छ ।
लहानको ५४ किमी लम्बाइको मिरचैया कटारी घुर्मी सडक गत महीना २६ गते पहिरोले बगाएको थियो । हाल सो सडकअवरुद्ध रहेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए ।
गरीब घर पहिचान गरिँदै
सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्य लिएसँगै विभिन्न १२ जिल्लामा गरीब घरपरिवार पहिचान गर्ने भएको छ ।
सम्बन्धित क्षेत्रका स्थानीय तहसमेतको सहभागितामा यही साउन १७ गतेदेखि सर्भेक्षण शुरु गर्न लागिएको हो । करीब चार महीनाको समय अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त कार्यक्रममा गरीब समुदायको पहिचान गरिने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जनाएको छ ।
विगतमा २६ जिल्लामा गरीब पहिचान गरिएकामा केही जिल्लामा त्रुटि भएका कारण परिचयपत्र वितरणमा समस्या भएको अनुुभवलाई दृष्टिगत गरी चालू आर्थिक वर्षमा यस्ता किसिमका त्रुटि नदोहोरिने गरी कार्यविधि बनाइएको छ ।
सर्भेक्षण गर्न लागिएका जिल्लामा ताप्लेजङु, धनकुटा, महोत्तरी, रसुवा, काभ्रेपलाञ्चोक, स्याङ्जा, लमजुङ, म्याग्दी, बाँके, दैलेख, डडेल्धुरा र दार्चुला छन् । विगतमा सर्भेक्षण गरिएका जिल्लामा खोटाङ, भोजपुर, सिराहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुमपूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, रुकुमपश्चिम, बाजुरा, बझाङ, अछाम र कैलाली छन् ।
आगामी वर्षमा बाँकी ३९ जिल्लामा उक्त कार्य सम्पन्न गरिने मन्त्रालय गरीब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झवीन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
भूकम्पबाट क्षतिग्रस्त ७० सरकारी भवन पुनःनिर्माण
चारवर्ष अघिको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनमध्ये ७० वटाको पुनःनिर्माण सम्पन्न भएको छ ।
सरकारी स्रोतबाट ३० र एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा बनेका ४० भवन निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारी स्रोतबाट पुनःनिर्माण भइरहेका बाँकी २१ भवन चालु आर्थिक वर्षमै सम्पन्न हुनेछन् ।
एडिबीको ऋण सहयोगमा पुनःनिर्माण भइरहेका बाँकी २९ भवनको पुनःनिर्माण विसं २०७६ पुससम्ममा सम्पन्न भइसक्ने पनि बताए ।
बूढीगण्डकीको मुआब्जा नरोक्न माग
नेपाली काङ्ग्रेसले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजनाका केही स्थानका घर जग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य एका एक रोक्का गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
काङ्ग्रेसले सो परियोजना निर्माण गर्दा डुबानमा पर्ने गोरखा र धादिङका धेरै गाउँपालिकाको जग्गाको मुआब्जा वितरण भइसकेको तर आरुघाटबजार, खहरेबजार र आरखेतबजार क्षेत्रको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य सरकारको आदेशमा एकाएक रोक्का गरिएको आरोप लगाएको छ ।
परियोजनाको डुबान क्षेत्रमा पर्ने उक्त बजारको घरजग्गा चार÷पाँच वर्षदेखि बिक्री, नामसारी गर्न नपाउने गरी जिल्ला मालपोत कार्यालयबाट रोक्का गरिएपछि सो क्षेत्रका बासिन्दा मारमा परेका छन् ।
पार्टी केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उक्त अवस्थालाई ध्यानमा राखी सो बजार क्षेत्रमा रहेको घर–जग्गाको उचित मूल्याङ्कन गरी मुआब्जा अविलम्ब वितरण गर्न माग गर्ने निर्णय गरेको हो ।
गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठक पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रीत छ ।
सुनसहित तामाङ पक्राउ
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो ।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।
सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगजनीको आरोपमा एक पक्राउ
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गैँडाटारका रेवप्रसाद मैनाली रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।
आगजनीबाट करीब रु छ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।