
कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका कार्यालयमा सीसीटीभी क्यामेरा जडान गरिएका छन् ।
४ लाख ६४ हजार रुपैयाँ लागतमा नगरपालिका कार्यालयमा सीसीटीभी क्यामेरा जडान गरिएका हुन् ।
कामप्रति कर्मचारीलाई उत्तरदायी र अनुशासित बनाउनका लागि सीसीटीभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताए । ‘कर्मचारीको गतिविधिमाथि निगरानी बढाउनुका साथै काम चुस्तदुरुस्त बनाउनका लागि सीसीटीभी क्यामेराले सहयोग पुर्याउनेछ भन्ने उद्देश्य लिएका छौं,’ अधिकृत थापाले भने, ‘नगरपालिका परिसर क्षेत्रको गतिविधिमाथिसमेत निगरानी राख्न सकिने गरी क्यामेरा जडान गरिएका छन् ।’
निगरानीका लागि १० क्यामेरा कार्यकक्षमा जडान गरिएका छन् । क्यामेराको कन्ट्रोलकक्ष नगरप्रमख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा राखिएको छ । नगर प्रमुख, उपप्रमुख र प्रवक्ताको कार्यकक्षमा भने सीसीटीभी क्यामेरा जडान गरिएका छैनन् । नगरपालिका प्रवक्ता जगतबहादुर सिंहले आवश्यकता नभएर नगर प्रमुख, उपप्रमुख र आप्mनो कार्यकक्षमा क्यामेरा जडान नगरिएको बताए ।
यस्तै, बेदकोट नगरपालिका–३ मा १ करोड ५० लाख रुपैयाँ लागतमा सुविधासम्पन्न कभर्डहल निर्माण गरिएको छ । राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नका लागि कभर्डहल निर्माण गरिएको हो । कभर्डहलमा २ डे«सिङ रुम, शौचालय लगायतका संरचना निर्माण गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताए ।
‘कभर्डहलको बाह्य संरचना निर्माण भएर तयार भएको छ,’ उनले भने, ‘भित्री संरचना बनाउन अझै बाँकी छ ।’ चालू आवमा भित्री सबै संरचना बनाएर कभर्ड हललाई सञ्चालनमा ल्याइने उनले बताए । कभर्डहलको लम्बाइ ४० फिट र चौडाइ ३० फिट रहेको छ । कभर्डहलसँगै ८ बिघा क्षेत्रफलको खेल मैदानसमेत रहेको छ । विक्रम संवत् २०७४ मा कभर्डहल निर्माण कार्य शुरू गरिएको थियो । नगरपालिकाले प्रत्येक वडामा एक खेलमैदान बनाउनका लागि समेत काम अगाडि बढाएको बताएको छ ।