०९ असार २०८३, मंगलबार

काम नगर्ने हो भने पद ओगटेर नबसे हुन्छ - मन्त्री पुन

काम नगर्ने हो भने पद ओगटेर नबसे हुन्छ - मन्त्री पुन

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले काम नगर्ने हो भने पद ओगटेर नबस्न कर्मचारीहरूलाई सुझाव दिएका छन् । तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहीवार मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिए ।

सरकारले कार्यसम्पादन सम्झौताको शुरुआत गरेर नयाँ कार्यशैली अपनाएको पुनको दाबी छ । उनले जनताको अपेक्षालाई पूरा गर्न आफू पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मनभित्रैबाट पूरा गर्न निर्देशन दिए । 'अब प्रक्रिया मात्र भनेर हुँदैन, तपाईहरुले तालिका बनाएर नै काम गर्नुप¥यो । सरकारले अघि सारेको कामलाई सफल पार्नु हामी सबैको दायित्व हो,' मन्त्री पुनले भने, 'काम नगर्ने हो भने पद ओगटेर मात्र बस्न कसैलाई पनि छुट छैन, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन ।'

कार्यसम्पादन कमजोर भएका र बहानाबाजी गर्ने कर्मचारीसँग आफूले कुनै पनि हालतमा सम्झौता नगर्ने उनले प्रष्ट पारे । उनले हरेक महिना मन्त्रालयमा समीक्षा बैठक राखेर कामको प्रगति विवरण लिने पनि बताए ।

'चिनेका साथीभाइ हुन् काम गरिहाल्छन् नि भनेर मैले भन्ने अवस्था छैन, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ,' मन्त्री पुनले चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्