
काठमाडौं – किसान नेता शहीद भीमदत्त पन्तको हत्या भएको दिन आज ६७ औं स्मृति दिवस मनाइँदैछ ।
गरीब र किसानका पक्षमा संघर्ष गर्दागर्दै तत्कालीन शासकले उनको हत्या गरेको सम्झनामा शुक्रवार विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।
सुदूरपश्चिमको डडेल्धुरामा जन्मिएर शोषकविरुद्ध संघर्ष गर्दागर्दै विक्रम संवत् २०१० साउन १७ गते उनको हत्या भएको थियो ।
शहीद भीमदत्तको योगदान र विचारलाई जोगाइराख्न उनको नामबाट विभिन्न संघसंस्था र प्रतिष्ठान स्थापना गरिएका छन् । कञ्चनपुरमा तत्कालीन महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरेर शहीदकै नामबाट भीमदत्त नगरपालिका राखिएको छ ।
पन्तको सम्झनामा शुक्रवार बिहान शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले डडेल्धुराको बागबजारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गरेको छ । २०७२ फागुन १९ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पन्तलाई शहीद घोषणा गरेको थियो ।