
काठमाडौं – जर्मनीमा एक आप्रवासीले एक बालक र उनकी आमालाई ट्रेनमुनि धकेलेपछि गृहमन्त्रीले देशको सीमामा कडा चेकजाँच गर्न र सबै रेल स्टेसनमा थप सुरक्षाका उपाय अपनाउन निर्देशन दिएका छन् ।
‘सीमामा सबै किसिमका जासूसी नियन्त्रण कामय गर्नका लागि म भरमग्दूर प्रयास गर्छु,’ होर्स्ट सीहोफरले स्पीगेल पत्रिकालाई बताए ।
अफ्रिकी मुलुक इरिट्रीयाबाट आएका ४० वर्षीय एक व्यक्तिले फ्रांकफर्ट स्टेसनमा आठवर्षीय बालक र उनकी आमालाई ट्रेनमुनि धकेलेका थिए ।
सन् २००६ देखि स्विट्रजल्यान्डमा बस्दै आएका आप्रवासीले इन्टरसिटी एक्सप्रेसको तीव्र गतिको ट्रेन आउनुभन्दा केही सेकेन्डअघि उनीहरूलाई ट्य्राकमा धकेलेका थिए ।
आमा त दुर्घटनामा बाँच्न सफल भइन् तर बालक भने मारिए । धकेल्ने व्यक्ति स्टेसनबाट भाग्न खोजे तर उनलाई यात्रुहरूको एक समूहले लखेट्यो । अन्ततोगत्वा उनलाई फ्र्यांकफर्ट टर्मिनल बाहिर प्रहरीले पक्राउ गर्यो ।
स्विट्जरल्यान्डसँगको सीमामा विदेशीहरूलाई परीक्षण गर्नका लागि आकस्मिक र अस्थायी चेकजाँच गर्ने व्यवस्था सीहोफरले ल्याउन खोजेका छन् । जर्मनी र स्विट्जरल्यान्ड शेन्जेन क्षेत्रमा पर्ने हुनाले प्रवेशाज्ञा आवश्यक हुँदैन । सीमा पार गर्ने यात्रुहरूलाई कुनै चेकजाँच गरिँदैन ।
यस विषयलाई तत्कालै सम्बोधन गरिनुपर्ने सीहोफरले चेतावनी दिए । गत वर्ष जर्मनीमा ४३ हजारजना अनधिकारिक मानिसले प्रवेश गरेका थिए ।
एजेन्सी