
काठमाडौं –प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीले उच्च लगाव एवम् व्यवसायीकताका साथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा संचालित ‘आवश्यकता पहिचान सम्बन्धी तालिम’को आइतबार सोही निर्देशनालयमा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक खनालले भने, ‘तालिममा हासिल गरेका व्यवहारिक ज्ञान, सिप एवम् कौशललाई कार्यक्षेत्रमा दुरुस्त उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै महिला, बालबालिका तथा जेष्ठ नागरिकको मन जित्ने व्यवहार प्रस्तुत गरी पीडितलाई न्याय दिन सक्नुपर्छ ।’
उनीहरुप्रति गरिने सेवामा आवश्यकताको पहिचान एवम् विश्लेषण गरी न्यायपूर्ण काम गर्दै जनमानसमा नेपाल प्रहरी हाम्रो हो, हाम्रा लागि हो भन्ने अनुभव गराउन सफल हुने गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा एवम् अमन चयन कायम गर्न नेपाल प्रहरी सदैव लगनशील भई कार्य गर्दै आएको चर्चा गर्दै प्रहरीले प्रदान गर्ने सेवाको समाजमा पनि उचित विश्लेषण एवम् तथ्य जानु जरुरी रहेको बताए । प्रहरीले प्रदान गर्ने विश्वासिलो सेवाका कारणले नै सामाजमा भएका घटनाहरु प्रहरी समक्ष आउने क्रममा बृद्धि भएको समेत उनले उल्लेख गरे ।
महानिरीक्षक खनाल र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा जानकारी पुस्तिकाको संयुक्त रुपमा लोकार्पण समेत गरेका थिए ।
प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले धन्यवाद ज्ञापन गर्दै संगठनको आवश्यकता र नीति अनुसार अगाडि जानका लागि तालिम महत्वपूर्ण सावित हुने बताए । तालिमले आवश्यकता पहिचान गरी सबै किसिमका विषयमा दक्ष बनाउनुका साथै सैद्धान्तिक र व्यवहारिक ज्ञान विकास गर्नका लागि थप मद्दत पुर्याउने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनका डिन डाक्टर महेशनाथ पराजुली र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले तालिमको महत्वमाथि प्रकाश पारेका थिए ।
प्रहरी उपरीक्षक किरण राणाले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक तारा थापाले प्रशिक्षार्थीको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।
प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको आयोजना एवम् काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन र यूनिसेफको सहयोगमा संचालित १९ कार्यदिनको उक्त तालिममा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ५ जना, प्रहरी निरीक्षक १० जना, प्रहरी नायव निरीक्षक २ जना र प्रहरी सहायक निरीक्षक २ जना गरी कुल २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।