११ असार २०८३, बिहीबार

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु
फाइल फोटो

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरू गरेकोे छ ।

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्राचार गर्दासमेत स्थानीयले अटेर गरेपछि सोमवारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन शुरू गरिएको हो ।

पहिलो दिन ४ वटा हटाइएको र अन्य ४ लाई २४ घण्टाभित्रमा हटाउन कागजी सहमति गराइएको छ । पहिलो दिन दिक्तेलको अल्छेढुङ्गाका प्यारीमाया सर्किनी, बाम्राङका दुर्गाबहादुर कार्की र डिल्लीबहादुर कार्की अर्को एक टहरा हटाइएको हो ।

नगरपालिकाभित्र रहेका राष्ट्रिय योजनाका सडकलाई व्यवस्थित र नगरपालिकालाई सुन्दर बनाउन मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन थालिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘पहिलो चरणमा टहरा मात्र हटाउन थालिएको छ,’ उनले भने, ‘दोस्रो चरणमा घर भत्काउने तयारी गरिएको छ ।’

नगर प्रमुख रिजालका अनुसार दोस्रो चरणअन्तर्गत दिक्तेलबजारका ४ घरहरू भत्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सडकको दायाँ ३१ र बायाँ ३१ मिटर छाडेर मात्र भौतिक संरचना बनाउन तथा घरटहरा बनाउन भनिएपनि स्थानीयले जबर्जस्ती मापदण्ड मिचेर बनाएका थिए ।

नगर क्षेत्रभित्र मापदण्ड मिचेर घरटहरा बनाएमा अथवा नक्सापास नगरी बनाएमा नगरपालिकाले जुनुसुकै बेला भत्काउन सक्ने र भत्काउँदा लाग्ने खर्च संरचना बनाउनेबाटै असुलउपर गरिने जनाइएको छ ।

अटेर गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना गराउन मिल्ने कानूनी प्रावधान रहेको नगर प्रमुख रिजालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्