
काठमाडौं – प्रतिनिधि सभाको शून्य समयमा सुनसरी धरान उपमहानगरपालिकामा घरैपिच्छे डेंगुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेंगुको बिरामी देखिँदा २ महिलाको मृत्यु भइसकेको र ४ हजारमा रोेग देखिएकाले रोग तत्काल नियन्त्रणमा ल्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
सांसद राजेन्द्रकुमार राई र रानी मण्डलले तराईमा डुबानको समस्याका कारण धेरै मानिस घरबारविहीन भएको भन्दै तिनीहरूका लागि सरकारले तत्काल राहत प्रदान गर्न आग्रह गरे । सांसद महेश्वरजंग गहतराजले तराईमा वर्षैपिच्छे डुबानका कारण ठूलो धनजनको क्षति भएको हुँदा शहरी विकास मन्त्रालयले डुबानमुक्त घरका नक्सा बनाई डुबानमुक्त घर निर्माण गर्नुपर्ने सुझाव दिए ।
सांसद रामकुमारी झाँक्रीले सरकारी अस्पतालभन्दा गैरसरकारी अस्पतामा मानिसको अकालमा मृत्यु भइरहेको र मानिसको जीवनजस्तो अमूल्य चीजलाई लापरवाही गर्ने निजी अस्पताका डाक्टरलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेश बस्नेतले बनेपा–सिन्धुली सवारी यात्रा गर्ने दोस्रो मुख्य सडक भएको हुँदा सडकलाई ६ लेनको बनाउने विषयमा उचित चासो राख्न भौतिक मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद यज्ञराज सुनुवारले ओखलढुंगाको विभिन्न स्थान सुक्खाग्रस्त भएर नागरिक निकै आक्रान्त भएको हुँदा दीर्घकालीनरुपमा स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए । सांसद रंगमती शाहीले बजारमा बेच्न राखिएका विषादीयुक्त तरकारीले नागरिकको स्वास्थ्यमा गम्भीर असर पुगेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । सांसद राजेन्द्रप्रसाद गौतमले संखुवासभा जिल्लामा आगजनी भएर जग्गाको नक्सा नष्ट भएकाले पुनः जग्गा नाप्ने व्यवस्था गर्न माग गरे ।