०६ असार २०८३, शनिबार

बुटवलमा कांग्रेस-एमालेकै लडाईं, यस्ता छन् सम्भावित उम्मेदवार

कात्तिक २०, २०७४
 बुटवलमा कांग्रेस-एमालेकै लडाईं, यस्ता छन् सम्भावित उम्मेदवार
बुटवल १५ चैत — स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा बुटवलको मेयर को हुने भन्ने चर्चा चुलिएको छ । नगरपालिकाको संरचनाअनुसार २०४९ र २०५४ को स्थानीय चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेले एक/एक पटक नेतृत्व लिएको बुटवलमा यसपटक नेकपा माओवादी केन्द्र समेत गरी त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेबीच हुने अनुमान धेरैको छ । रूपन्देहीको १६ स्थानीय तहमध्ये दलहरूले बुटवल उपमहागरपालिकालाई विशेष प्रतिष्ठाका रूपमा हेरेका छन् ।

बुटवलमा २०४९ मा नगरप्रमुख जितेको कांग्रेसमा थुप्रै नेताको सम्भावनाबारे चर्चा हुन थालेको छ । कांगे्रसका बुटवल नगर सभापति खेलराज पाण्डे, महासमिति सदस्य युवराज गिरी, उद्योगी व्यवसायी सुरेन्द्र श्रेष्ठ, महेशमान सिंह समेतले आकांक्षा देखाएका छन् ।

त्यसो त मेयरको टिकट पाए पूर्व क्षेत्रीय सभापतिहरू राम बहादुर कार्की र हरि बहादुर आचार्य पनि चुनाव लड्ने तयारीमा छन् ।

बुटवलमा कांग्रेस नेता बालकृष्ण खाँडको प्रभाव पर्ने क्षेत्र भएकोले उनको उम्मेदवारका रूपमा गिरि र सिंहललाई हेरिएको छ । तर रामचन्द्र पौडेल निकट मानिने पाण्डे, कार्की लगायतले पनि बुटवलमा आफूहरूले नै नेतृत्व गर्ने बताउँदै आएका छन् ।

एमालेमा भने पूर्वमेयर भोज प्रसाद श्रेष्ठदेखि जिल्ला उपसचिव गोपाल रानासम्मलाई उम्मेदवारका रूपमा चर्चा गरिएको छ । राना पार्टी अध्यक्ष केपी शर्मा ओली निकट भएकाले पनि उनको चर्चा हुने गरेको हो ।
श्रेष्ठ वरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेकाले रानाले दाबी गर्ने सम्भावना बढी छ ।

ओलीनिकट उपमहासचिव विष्णु पौडेल यो क्षेत्रका सांसद रहेकाले रानाको सम्भावना बलियो देखिने चर्चा गरिन्छ । तर श्रेष्ठको सक्रियताले रानाले सोचेजस्तो सजिलो भने छैन ।

श्रेष्ठ र रानासँगै जिल्ला अध्यक्ष शिव सुवेदी, औषधि व्यवसायी बाबुराम भट्टराई, मजदूर पृष्ठभूमिबाट आएका नेता कमल गौतम लगायतको नाम मेयरको उम्मेदवारका रूपमा चर्चामा छ ।

यसपटक कांग्रेस र एमालेसँगै माओवादी केन्द्र पनि प्रतिस्पर्धामा छ । माओवादीमा पनि मेयरका रूपमा सर्वसहमत नाम छैन ।

माओवादीबाट केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रामप्रसाद बन्जाडे मेयरका बलियो उम्मेदवार हुनसक्ने अनुमान गरिन्छ । उनीसँगै अर्का केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर–४, का सहइन्चार्ज हरि घिमिरे, नगर इन्चार्ज सुदीप न्यौपाने , मनोज राना लगायतको चर्चा छ ।

यता, राप्रपामा पनि मेयर कसलाई बनाउने भन्नेबारे छलफल भइरहेको छ । पूर्व नगरप्रमुख पुनाराम पोखरेल र रूपसिंह थापामध्ये एकलाई उम्मदवार बनाउने सम्भावना उक्त पार्टीमा बढी रहेको छ ।

बुटवल उपमहानगरबाहेक रूपन्देहीमा पाँचवटा नगरपालिका छन् । बुटवलपूर्वको देवदह, पश्चिमको सैनामैना नगर, दक्षिणका तिलोत्तमा नगर, सिद्धार्थनगर नगर र लुम्बिनी सांस्कृतिक नगरमा समेत मेयरको खोजी शुरु भइसकेको छ । अन्य १० गाउँपालिकामा समेत दलहरूले चुनावी सरगर्मी बिस्तारै बढाएका छन् ।

यसैक्रममा सैनामैना नगरपालिकामा स्थानीय तह निर्वाचनको रौनकले तीव्रता लिँदै हरेक पार्टीमा वार्ड भेला सम्पन्न गर्दैछन् । नगरप्रमुख पदमा विभिन्न पार्टीमा चर्चा परिचर्चा शुरु भएको छ ।

ठूलो दल नेपाली कांग्रेसमा फणीन्द्र प्रसाद शर्मा, गोविन्द प्रसाद लम्साल, सुनील मरासिनी, राजबहादुर क्षेत्री, रामप्रसाद अधिकारी लगायतको नाम बजारमा चर्चामा छ ।

त्यसैगरी एमालेमा चित्र बहादुर कार्की, खुसीराम चौधरी, नरबहादुर थापा, भूमीश्वर ढकाल, मीनप्रसाद घिमिरे, मीनप्रसाद पौडेल, रामप्रसाद भट्टराई, रिमबहादुर श्रेष्ठ लगायतको नाम चर्चामा छ ।

माओवादी केन्द्रमा नारायण न्यौपाने, हरिहर भट्टराई, नेत्र घिमिरे, सीता जीसी लगायतको नाम अगाडि छ । राप्रपामा ईश्वरी प्रसाद घिमिरे, मातृका ढकाल आकांक्षी देखिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा चार लाख ६५ हजार तीन सय १९ मतदाता संख्या रहेको छ ।
रूपन्देहीमा १६ वटा स्थानीय तह निर्धारण गरिएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ गौतमले रूपन्देहीमा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका कायम गरिएको छ ।

अहिलेसम्म रूपन्देहीमा सात निर्वाचन क्षेत्र छन् । सात निर्वाचन क्षेत्रमा २०७० सालको निर्वाचनमा आएको चुनावी मत परिणामलाई हेरेर पनि केही हदसम्म स्थानीय चुनावको बारेमा धारणा बनाउन सकिन्छ ।

रूपन्देहीको ६ नम्बर क्षेत्रमा तमलोपाका सर्वेन्द्रनाथ शुक्ला र ७ मा तमलोपाकै कमलेश्वर पुरी गोस्वामीले जितेका थिए । दुई नम्बर क्षेत्रमा राप्रपाका दीपक बोहोराले जितेका थिए । एक नम्बरमा कांग्रेसका अब्दुल रज्जाक, तीन नम्बरमा कांग्रेसका बालकृष्ण खाँडले जितेका थिए । एक सय ७६ भोट मात्रै बढी ल्याएर खाँडले एमालेका घनश्याम भुसाललाई पराजित गरेका हुन् ।

चार नम्बर क्षेत्रमा विष्णु पौडेल विजयी भएका थिए । पाँच नम्बरमा कांग्रेसका भरतकुमार शाह विजयी भएका थिए । जिल्लामा अहिले दुई सय ६ मतदानस्थल कायम गरिएको छ ।

३१ वटा दलले निर्वाचनमा जानको लागि आयोगमा दर्ता गराएका छन् । नेकपा मालेका चाहिँ दुईवटा कार्यसमिति दर्ता भएकोले एउटालाई मात्रै वैधानिकता दिइनेछ । त्यसपछि दलको संख्या ३० हुनेछ ।

अहिले निर्वाचन आचारसंहिताको कारणले आमसभा गर्न पाइँदैन । दलहरू चुनावको आन्तरिक तयारीमा जुटेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्मको जिल्लाको अवस्था सामान्य नै छ । चुनाव हुनेमा प्रहरी प्रशासन ढुक्क जस्तै छ । मधेसी दलले भाँड्न खोजेमा पनि केही ठाउँमा बाहेक अन्यत्र सजिलै चुनाव हुनेछ ।

अहिले रूपन्देहीको स्थानीय क्षेत्रमा कांग्रेस र एमाले नै प्रतिस्पर्धीका रूपमा देखिएका छन् । तर सिद्धार्थनगर नगरपालिकामा चाहिँ राप्रपा बलियो छ । सिद्धार्थनगर नगरपालिकामा ठूलो दलले राप्रपालाई सहयोग गरेमा राप्रपाले जित्ने आँकलन गरिएको छ । तर सबै दल लडेमा कांग्रेस बलियो हुने ठानिएको छ ।

प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले तराईका दलले विरोध गरेपनि रूपन्देहीभर सजिलै चुनाव गर्न सकिने बताए । ‘चुनाव गर्न नसकिने ठाउँ कहीँ पनि छैन,’ उनले लोकान्तरसँग भने, ‘मधेसवादी दलका केही कार्यकर्ताले विरोध गरेपनि आम नागरिकमा चाहिँ चुनावी उत्साह छ ।’

उनले आफूहरू सबै क्षेत्रमा सुरक्षा दिनको लागि सक्षम रहेको बताए । चुनाव गर्न गाह्रो हुने ठाउँ कतै पनि नरहेको उनले बताए । ‘जहाँ तनाव देखिन्छ त्यहाँ सुरक्षा बढाउने न हो,’ उनले भने, ‘राज्य चुनावमा होमिएको छ, राज्यले चाहेको काम गर्न नसकिने भन्ने हुँदैन ।’

समग्रमा जिल्लामा चुनावी उत्साह राम्रो रहेको उनी बताउँछन् ।

कमेन्ट गर्नुहोस्