
काठमाडौं – हङकङमा सरकारविरोधी प्रदर्शन गरिरहेका सयौं विरोधकर्ताहरू शुक्रवार विमानस्थलको आगामन कक्षमा पुगेर पर्यटकलाई राजनीतिक पर्चा बाँडेका छन् । आफूहरूको शहर विभाजित भइरहेको भनी पर्चामा लेखिएको छ ।
प्रदर्शनकारीहरू अधिकांश युवा थिए र उनीहरूले कालो टीशर्ट लगाएका थिए । उनीहरूले पर्चामा ‘प्यारा यात्रुहरू’ भन्ने सम्बोधन गर्दै हङकङमा महिनौंदेखि भइरहेको विरोध प्रदर्शनलाई झल्काउने कलाकृति बनाएका थिए ।
पर्चामा लेखिएको छ, ‘तपाईंहरू टुटफुट भएको र विभाजित गरिएको शहरमा आइपुग्नुभएको छ । तपाईंले सोचेको जस्तो शहर रहेन यो । तर यही हङकङका लागि हामीहरू लड्दैछौं ।’
विरोध प्रदर्शन हिंस्रक हुँदै जाँदा चीनका राष्ट्रपति शी चिनफिङलाई गम्भीर चुनौती आइलागेको छ ।
अपराधका आरोपितहरूलाई पुर्पक्षका लागि चिनियाँ अदालतहरूमा सुपुर्दगी गर्न सकिने कानूनको विरोध गर्दै भएका प्रदर्शन रोकिने छेकछन्द देखिएको छैन । सुपुर्दगी कानून फिर्ता लिइएको भए पनि हङकङमा बृहत्तर लोकतन्त्र, हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा र चिनियाँ मुख्यभूमिका पर्यटकमाथि रोक लगायतका माग उठाइएका छन् ।
शहरका शक्तिशाली घरजग्गा व्यवसायीहरूले पहिलोपटक शान्ति बहाल गर्न अपील गरेपछि विमानस्थलमा प्रदर्शन गरिएको हो । यसअघि एक दर्जन ठूला कम्पनीहरूले विरोधहरूका कारण आयआर्जनमा समस्या आइलागेको बताएका थिए ।
हङकङले सन् २०१४ मा भएका विरोध प्रदर्शनमा सुव्यवस्था मिलाउने प्रहरी कमान्डर एलन यिप–शिङलाई सेवानिवृत्तिबाट बोलाएर अहिलेको विरोध प्रदर्शन साम्य पार्न भनेको छ । यसले प्रहरीको बहालवाला नेतृत्वप्रति विश्वासको संकट रहेको देखाएको छ ।
एजेन्सी