
चितवन – जिल्लाका स्थानीय तहहरूले एचआईभी संक्रमितको स्वास्थ्य बीमा गर्न शुरू गरेका छन् ।
हालसम्म जिल्लामा रहेका ११० जना संक्रमितको स्वास्थ्य बीमा गरिएको छ ।
स्थानीय तहहरूले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले ९, राप्ती नगरपालिका र माडी नगरपालिकाले ८/८ र खैरहनी नगरपालिकाले ५ जनाको स्वास्थ्य बीमा गरेको भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार भदौबाट लागू हुनेगरी उनीहरूको बीमा गरिएको हो । संक्रमितको स्वास्थ्यमा धेरै समस्या देखिने भएकाले बीमा गरिएको उनले बताए । अहिले जिल्लामा १ हजार ७२९ जना संक्रमित छन् । उनीहरूमध्ये ८९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।
जिल्लामा रहेका सबै संक्रमित खुलेर बाहिर आउन सकून् भन्ने उद्देश्यका साथ स्थानीय तहसँगको समन्वय गरी बीमा कार्यक्रम शुरू गरिएको सापकोटाले जानकारी दिए । अस्पतालमा औषधि खाएको प्रमाण पेश गरेपछि संक्रमितको बीमा स्थानीय तहले गर्ने गर्दछ ।
सन् २०१९ को जनवरीदेखि जुनसम्म ७ हजार ८०१ जनाको नमूना परीक्षण गर्दा ५४ जना संक्रमित भेटिएका छन् ।