
काठमाडौं – जिल्लाको काठमाडौं महानगरपालिका–१६ म्हैपी मन्दिर क्षेत्रमा ३३ सीसी क्यामरा जडान गरिएको छ ।
प्रदेश ३ सरकारको ५० लाख रुपैयाँ आर्थिक सहयोगमा म्हैपी मन्दिर वरपरका ३३ मुख्य मुख्य चोकमा सीसी क्यामरा जडान गरिएको हो । सिसी क्यामरा तथा नवनिर्मित शौचालयको शनिवार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।
महानगरपालिका प्रमुख शाक्यले शान्त र सुरक्षित महानगर निर्माणका लागि सीसी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘सुरक्षित महानगरपालिका बनाउन काठमाडौं महानगरपालिकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नेपाल प्रहरीलाई ५ करोड ८१ लाख आर्थिक सहयोग गरेको छ,’ उनले भने ।
प्रमुख शाक्यले महानगरको सबैभन्दा ठूलो १६ नम्बर वडा भएकाले बजेट विनियोजनमा विशेष प्राथमिकता दिएको उल्लेख गरे । म्हैपी क्षेत्रको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले यसभन्दा पहिला पनि १ करोड आर्थिक सहयोग गरेको उनको भनाइ थियो ।
प्रदेशसभा सदस्य वसन्त मानन्धरले म्हैपी क्षेत्रको संरक्षणमा चुनौती बढदै गएकाले प्रदेशसरकारले म्हैपी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।
‘प्रदेश सरकारले मूर्त सम्पदाको साथसाथै अमूर्त संस्कृतिको जर्गेनाको लागि पनि विशेष प्राथमिकता दिएर काम गरिरहेको छ,’ उनले भने । म्हैपी, नयाँबजार, विष्णुमति पुल, मनाङ गेट लगायतको क्षेत्रमा सिसी क्यामरा जडान गरिएको उनको भनाइ थियो ।
महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले उपत्यकामा बढ्दै गएको अपराध नियन्त्रणका लागि सिसीटिभी क्यामरा जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘अपराध पत्ता लगाउन सीसीटीभी भरपर्दो माध्याम बन्दै गएको छ, सीसीटीभी क्यामरा जडानसँगै अपराधमा कमी आउनेछ,’ उनले भने । सीसीटीभी क्यामराको निरीक्षण भने महानगरीय प्रहरी वृत्त लैनचौरले गर्नेछ ।
वडाध्यक्ष मुकुन्द रिजालले १६ वडालाई महानगरकै नमूना वडाको रुपमा विकास गर्न जनप्रतिनिधिका हैसियतले आफू लागिरहेको बताए । शहरी विकास विज्ञ पद्यसुन्दर जोशीले ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको म्हैपी क्षेत्रको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।