
काठमाडौं – निलम्बित सरकारी कर्मचारीले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।
भ्रष्टाचार मुद्दामा निलम्बनमा परेको उदयपुर त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्यले आत्महत्या गरेको छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिकृष्ण केसीका अनुसार असार २५ काठमाडौंबाट उदयपुर आएलगत्तै हराएका आचार्य रातामाटेमा सतुवाको रुखमा प्लास्टिकको डोरीले पासो लगाइ भुण्डिएको अवस्थामा २६ गते बिहान फेला परेका हुन् । उनी यसअघि काठमाडौंको मालपोत कार्यालय कलंकीमा कार्यरत थिए ।
‘काठमाडौंबाट आएलगत्तै हराएको भन्दै आफन्तले प्रहरीमा उजुरी दिनुभएको थियो । त्यसपछि हामीले खोज्दै जाँदा सतुवाको रुखमा झुण्डिएको अवस्थामा फेला पारेका हौं,’ उनले भने ।
उनको साथबाट २ पानाको सुसाइड नोट समेत प्रहरीले फेला पारेको छ । आर्चायले सुसाइड नोटमा अख्यिारका प्रमुख आयुक्तको नाम लिँदै लेखेका छन्, ‘लामो समय बाँँच्नु, मैले १ रुपैयाँ पनि खाएको छैन ।’
‘पारिवारिक तनावका कारण पनि सुसाइड गरेको उनले नोटमा लेखेका छन् । आफ्ना आफन्तलाई राम्रोसँग मिलेर बस्न आग्रह गरेर नोट लेखेका छन्,’ डीएसपी केसीले लोकान्तरसँग भने, ‘परिवारका सदस्यले दिएको जानकारीलाई मान्ने हो भने आचार्यले काठमाडौंको सिभिल अस्पतालबाट मानसिक रोगीको औषधि खाँदै आएको खुलेको छ ।’