
काठमाडौं – चीनको सरकारी पत्रिका पीपुल्स डेलीले सोमवार एउटा भिडियो सार्वजनिक गरेको छ । भिडियोमा हङकङसँग सिमाना जोडिएको चिनियाँ मुख्यभूमिको शहर शेनजेनमा सैन्य वाहन तैनाथ गरिएको देखिन्छ ।
भिडियोमा सशस्त्र वाहनहरू सर्भिस एरियामा प्रवेश गरेको देखिन्छ भने अन्य सैन्य वाहन राजमार्गमा गुडिरहेको भेटिन्छ ।
सामाजिक सञ्जालमा यो भिडियो देखिएको भन्दै यसको आधिकारिकतामा टिप्पणी गर्न समाचारपत्रले मानेन ।
तर चिनियाँ कानूनले पीपुल्स आर्म्ड पुलिस फोर्सलाई दंगा, अव्यवस्था, गम्भीर हिंसक घटना, आतंकवादी आक्रमण र सामाजिक सुरक्षा सम्बन्धी अन्य घटनालाई नियन्त्रण गर्न अधिकार दिएको चेतावनी पत्रिकाले दिएको छ ।
हङकङमा भइरहेको विरोध प्रदर्शनलाई बेइजिङले आतंकवादसँग जोडेकै बेलामा यो भिडियो सार्वजनिक गरिएको हो ।
चीनको हङकङ तथा मकाउ मामिला कार्यालयका एक प्रवक्ताले हङकङमा विरोध प्रदर्शनका क्रममा हिंस्रक प्रदर्शनकारीहरूले प्रहरी अधिकारीमाथि पेट्रोल बम प्रहार गरेको भन्दै भर्त्सना गरेका छन् ।
कुल ५३ सेकेन्डको भिडियो पीपुल्स डेलीले वीबोमा रहेको आफ्नो आधिकारिक अकाउन्टमा पोस्ट गरेको थियो ।
चीनको गुआन्चा डट् सीएनले यो भिडियो अगस्ट १० मा शेनझेनका बासिन्दाले खिचेको बताए । शेनझेनको हङकङसँग २२ माइल लामो सीमा छ ।
एजेन्सी