
काठमाडौं, १५ चैत - तराई मधेशका जिल्लाहरूमा मंगलवार मधेशी दलका कार्यकर्ताहरुले निर्वाचन आयोग घेराउ गरे । यथास्थितिमा चुनाव गराएमा निर्वाचन भाँड्ने नारा पनि लगाए ।
निर्वाचन आयोगलाई मधेशी दलका कार्यकर्ताले घेर्ने भनेपछि सुरक्षाकर्मीलाई पनि सतर्क रहनै पर्यो । तराईको जिल्ला रुपन्देहीसँग जोडिएको पाल्पाको सुरक्षा संयन्त्र पनि शतर्क अवस्थामा रह्यो ।
पाल्पामा पनि मधेशी मोर्चाका कार्यकर्ताले घेर्छन भन्ने सुइँको प्रहरीले पाएको रैछ । बिहानै प्रहरीले १५/२० जनाको एउटा झुण्ड जिल्ला निर्वाचन कार्यलयमा खडा गरेको थियो ।
अरु दिन थोरै थोरै प्रहरी खटिने निर्वाचन कार्यालयमा मंगलावार किन धेरै कर्मचारी आए भनेर कर्मचारीहरू दंग परेका रहेछन् । ‘आज किन धेरै प्रहरी आए भनेर हामी दंग परेका थियौं,’ निर्वाचन कार्यालयका नायब सुब्बा कृष्ण ज्ञवालीले भने, ‘मधेशी दलका कार्यकर्ता आउँछन् भनेर आउनुभएको रैछ, तर चरो मुसो कोही आएनन् ।’
उनले जिल्लामा निर्वाचनको मुखमा सुरक्षा व्यवस्था राम्रो अनुभुत भइरहेको समेत बताए । मधेशी दलका कार्यकर्ता नआएपछि प्रहरीहरु दिनभर निर्वाचन कार्यालय वरिपरि उभिएर फिर्ता भएका छन् ।
पाल्पामा अशोक राइ नेतृत्वको संघीय समाजवादी फोरम नाम पार्टी दर्ता भएको छ ।