काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।
मंगलवार बस्ने भनिएको बैठक तयारी नपुगेकाले बुधवारलाई सारिएको थियो ।
बुधवार दिउँसो शुरू भएको बैठकमा पोलिट्ब्युरो र विभिन्न आयोगहरू गठनबारे छलफल हुने बताइएको छ ।
जनवर्गीय संगठन र विभागको नेतृत्वको टुंगो लागेको नेकपामा अझै पनि आयोग, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास सङ्गठनको एकता घोषणा हुन बाँकी छ ।
आजको बैठकमा नेता माधवकुमार नेपालले आफ्नो लिखित असन्तुष्टि पेश गर्नेछन् । मंगलवार बैठक बस्न नसकेपछि सञ्चारमाध्यममार्फत नेता नेपालले ७ बुँदे असहमति सार्वजनिक गरेका थिए ।
यसअघि शुक्रवार र आइतवार बसेको बैठकमा नेता नेपालको प्रस्ताव छलफल भएको थिएन ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ल्याएका प्रस्तावहरू भटाभट छलफल र पारित भएपछि नेता नेपालले आफ्नो प्रस्तावउपर पनि छलफल गरिनुपर्ने माग राखेका थिए ।
आफ्नो वरीयता एक तह तल झरेपछि नेता नेपाल 'फायर' भएका हुन् । अध्यक्षद्वयले पार्टीलाई आफूखुसी गरेको भन्दै नेता नेपालले लिखित असहमति पेश गर्ने भएका हुन् ।