
काठमाडौँ -बुधवार साँझ प्रधानमन्त्री बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक निष्कर्षबिहीन ढंगले टुंगिएको छ ।
उक्त बैठक भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका विषयमा मात्र केन्द्रित रहेको बैठकमा सहभागी सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनालले लोकान्तरलाई बताए ।
'अरू केही कुरा भएन, त्यही जयशंकर आएको बारेमा कुराकानी भयो सक्कियो,' बैठकपछि खनालले लोकान्तरसँग भने, 'बैठकमा त्यसबाहेक अन्य कुनै एजेण्डामा छलफल भएन ।'
बुधवार दिउँसो शुरू भएको बैठकमा पोलिट्ब्युरो र विभिन्न आयोगहरू गठनबारे छलफल हुने अनुमान गरिएको थियो ।
नेकपामा जनवर्गीय संगठन र विभागको नेतृत्वको टुंगो लागेको नेकपामा अझै पनि आयोग, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास सङ्गठनको एकता घोषणा हुन बाँकी छ ।
आजको बैठकमा नेता माधवकुमार नेपालले आफ्नो लिखित असन्तुष्टि पेश गर्ने तयारी गरेका थिए । मंगलवार बैठक बस्न नसकेपछि सञ्चारमाध्यममार्फत नेता नेपालले ७ बुँदे असहमति सार्वजनिक गरेका थिए ।
यसअघि शुक्रवार र आइतवार बसेको बैठकमा नेता नेपालको प्रस्ताव छलफल भएको थिएन ।
यससँगै नेता नेपालका असन्तुष्टिका बुँदामा औपचारिक छलफल हुने सम्भावना लगभग टुंगिएको छ । प्रधानमन्त्री ओली भोलि (बिहीवार) उपचारका लागि सिंगापुर प्रस्थान हुने कार्यक्रम रहेको छ ।