काठमाडौं, १६ चैत — बेलायतमा सबभन्दा बढी बिक्री हुने दैनिकमध्ये एक ‘द डेली मेल’ले मंगलवारको आफ्नो पहिलो पृष्ठमा बेलायती प्रधानमन्त्री टेरिजा मे र स्कटल्यान्डकी पहिली मन्त्री निकोला स्टर्जियनको गोडाको चर्चा गरेको थियो ।

साराह भाइन नामक पत्रकारले यी दुई महिलाको नग्न गोडाका बारेमा एउटा लेख प्रकाशित गरेकी थिइन् । यसको व्यापक आलोचना भएपछि द डेली मेलले आलोचकहरूलाई ’जीवन जिऊ’ भन्दै जवाफ फर्काएको छ ।
मे र स्टर्जियनले ब्रेग्जिट र स्कटल्यान्डको दोस्रो जनमत संग्रहको छलफल गरिरहेको बेलामा खिँचिएको तस्वीरमा उनीहरूको नग्न गोडाको मेलले चर्चा ग–यो ।
‘हु वोन द लेग्जिट’ अर्थात् ‘कसको गोडा राम्रो’ भन्दै उनीहरूको गोडा, लुगा र पिनको समेत लेखमा चर्चा गरिएको थियो ।
मेलले यो हल्काफुल्का सामग्री भएको भन्दै यसमा हल्लाखल्ला गर्नु बेकार भएको टिप्पणी ग–यो ।
यससम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री मेले भनिन्, ‘हाम्रो पहिरनका विषयमा मानिसलाई मनोरञ्जन गर्न मन लाग्छ भने त्यसै गर्न दिनुस् ।’
उता स्टर्जियनले भने यो समाचारको आलोचना गरिन् ।
द डेली मेलले पुरुषहरूको रूप र भेषभूषामा पनि आफूहरूले टिप्पणी गर्ने गरेकाले नेत्रीहरूमाथिको लेख लैंगिक विभेद गर्ने खालको नभएको बतायो ।
उसले थप्यो, ‘राजनीतिक समाचारहरू दिक्कलाग्दा हुनुपर्छ भन्ने कुनै नियम छ वा गम्भीर अनुहार लगाउने बीबीसी र वामपन्थी टिप्पणीकारहरूले डेली मेलप्रतिको जुनूनमा हास्यचेत गुमाएका हुन् ?’
बीबीसीबाट