तानसेन, १६ चैत — आगामी २०७४ वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको चहलपहल पाल्पामा पनि शुरु भएको छ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयरका लागि दलका स्थानीय नेताहरूको दौडधुप शुरु भएको छ ।
पाल्पामा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको प्रभाव छ । उम्मेदवार छान्न स्थानीय राजनीतिक दलले आन्तरिक बैठक र छलफललाई तीव्र बनाएका छन् ।
पाल्पाको तानसेन नगरपालिकामा एमालेका तर्फबाट मेयरका लागि अशोक कुमार शाही, डा. पुरन बज्राचार्य, दामोदर घिमिरे र कृष्ण अधिकारीको नाम चर्चामा छ । शाही तानसेनका पूर्वमेयर हुन् ।
नेपाली कांग्रेसका तर्फबाट राजु श्रेष्ठ, चक्रमान शाक्य र मधुदयाल सैंजुको नाम चर्चामा छ । श्रेष्ठ उद्योग वाणिज्य संघ पाल्पाका उपाध्यक्ष समेत हुन् ।
माओवादी केन्द्रका तर्फबाट केशव पौडेल, गोपाल पौडेल र विन्दु रावलको नाम चर्चामा छ । राप्रपाको तर्फबाट भने मेयरमा भीमसेन कार्की र उपमेयरमा माया बज्राचार्य उम्मेदवार बन्ने लगभग पक्का जस्तै छ ।
रामपुर नगरपालिका
पाल्पाकै रामपुर नगरपालिकामा नेकपा एमालेका तर्फबाट राजु श्रेष्ठ, लेखनाथ पोखरेल र राजेन्द्र लम्साल मेयरको उम्मेदवार बन्ने सम्भावना रहेको जिल्लाका स्थानीय नेताहरू बताउँछन् ।
नेपाली कांग्रेसका तर्फबाट देवराज ढकाल र रमन थापा मेयरको उम्मेदवार बन्ने चर्चा छ । माओवादी केन्द्रका तर्फबाट कमल भट्टराई मेयरको उम्मेदवार बन्ने सम्भावना रहेको माओवादी केन्द्रका स्थानीय नेता बताउँछन् ।
राप्रपाको तर्फबाट ज्ञानहादुर सिंजाली र उपमेयरमा शोभा केसीको सम्भावना प्रबल रहेको राप्रपाका स्थानीय नेताहरू बताउँछन् । नेकपा एमालेका जिल्ला अध्यक्ष नारायण आचार्य, नेपाली कांग्रेसका जिल्ला सभापति वीरबहादुर राना र माओवादी केन्द्रका जिल्ला अध्यक्ष वसन्त शर्मा भने स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने बताउँछन् । कांग्रेस सभापति राना २०७० को संविधानसभा निर्वाचनमा पाल्पा २ बाट झिनो मतअन्तरले पराजित भएका थिए ।
जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार पाल्पामा निर्वाचन तयारी तीव्र गतिमा अघि बढिरहेको छ । पाल्पामा एक लाख ७१ हजार ८ सय २८ जना मतदाता कायम गरिएको छ । मतदाताको अन्तिम टुंगो निर्वाचन आयोगले लगाउनेछ ।
जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका कायम गरिएकोे छ । आयोगको कार्यालयले जिल्लामा मतदानस्थल कायम गर्ने काम सम्पन्न गरिसकेको छ । जिल्लामा ११ वटा दल दर्ता भएका छन् । पाल्पामा पनि तीन ठूला दलकै प्रतिस्पर्धा हुन सक्ने अनुमान गरिन्छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाका नायब सुब्बा कृष्ण ज्ञवालीले पाल्पामा पनि निर्वाचन आयोगको निर्देशन अनुसारका काम तीव्र गतिमा भइरहेका छन् ।
‘अहिले कर्मचारीका लागि मतदाता शिक्षा सञ्चालन भइरहेको छ,’ उनले भने, ‘अब केही दिनमा गाउँगाउँमा पुगेर व्यापक रूपमा मतदाता शिक्षा पनि शुरु गर्छौं ।’
उनका अनुसार जिल्लामा चुनावी माहोल निकै राम्रो छ । हालसम्म जिल्लाको सुरक्षा अवस्था पनि निकै राम्रो देखिएको छ । चुनाव भाँड्ने कुनै पनि गतिविधि पाल्पामा नहुने अपेक्षा समेत गरिएको छ ।