
काठमाडौं – फ्रान्समा चिडियाखाना भ्रमण गरेर एक गैंडाको छालामा आफ्नो नाम कोतर्ने दुई व्यक्तिको कठोर आलोचना गरिएको छ ।
गैंडाको छालामा जुली र कमिल नाम कोतरिएको थियो । ला पाल्मीर नामक चिडियाखानाका पर्यटकले देखाएको मूर्खता र असम्मानबाट आफूहरू क्रुद्ध भएको चिडियाखानाका अधिकारीहरूले बताए ।
नौएल नाम राखिएकी पोथी गैंडाको छालामा उनीहरूले नङले कोतरेर आफ्नो नाम लेखेका थिए ।
पाल्मीर चिडियाखानका पीएर काइलले भने, ‘कसैले गैंडाको मृत छालाको माथिल्लो पत्रमा नङले कोतरेछ । यो सम्मानमा आघात हो तर पोथी गैंडाले के भएको थाहा पाइन र उसलाई पीडा पनि भएन । हामीहरू अब चिडियाखानामा स्याहार गर्ने मानिसको संख्या बढाउँछौं । यो नदोहोरिने सुनिश्चितता हामी गर्छौं ।’

यसमा कानूनी कारवाही भने नचलाइने चिडियाखानको भनाइ छ ।
चिडियाखाना आउने अधिकांश पर्यटकहरूले सम्मानपूर्वक गैंडालाई छुने गरेका छन् । फ्रान्सेली वन्यजन्तु संरक्षण च्यारिटी ल बायोमले मानिस र गैंडाबीच यसरी निकटताको अवसर दिनु मापदण्डमुनिको काम भएको बतायो ।
गैंडाको छालामा नाम कोतरिएको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आक्रोश छ ।
एजेन्सी