
काठमाडौं, १६ चैत — नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको भनाई छ– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’ पार्टीभित्र बाबुरामको चर्काे विरोध भएपछि मानन्धरले सो कुरा बताएकी हुन् । राजनीतिक पार्टीमा लागेर नेतृ बने पनि राजनीतिक टिप्पणी नगर्ने मानन्धरले पार्टी केन्द्रीय परिषद वैठकमा विवाद हुँदा सो कुरा बताएकी हुन् ।
मंगलबार र बुधबार चलेको केन्द्रीय परिषद् वैठकमा संयोजक डा. बाबुराम भट्टराईले असहमत विचार राख्न नदिएपछि विवाद भएको हो । पार्टीमा बाबुराम भन्दा फरक विचार राखिरहेका देव लिम्बूले वैठकमा पेस गर्न फरक मत दर्ता गराएका थिए । तर, डा. भट्टराईले फरक मत राख्नु पार्टी अनुशासन विपरित भएको ठहर गरेका छन् ।
मंगलबार वैठक उद्घाटन गर्दै भट्टराईले देशमा अनुशासनहिनता छाएको भन्दै आफ्नो पार्टीभित्र पनि अनुशासन नभएको बताएका थिए । आफ्नो विरोध गर्ने लिम्बू पक्षलाई संकेत गर्दै उनले अनुशासनहिनहरुलाई छुट नदिइने बताएका थिए ।
स्रोत अनुसार बैठक स्थल बाहिर आगनमा देव लिम्बूको प्रस्ताव प्रस्तुत गर्न दिने कि नदिने भन्ने विषयमा कार्यकर्ताहरु माझ विवाद हुँदा अभिनेत्री करिश्मा मानन्धर पनि मिसिएकी थिइन् । उनले ‘बाबुरामको विरोध कसैले पनि गर्न हुँदैन’ भनिन् । करिश्माको भनाई थियो– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’
करिश्माले हाकाहाकी भनिन्– ‘चुनाव हुँदैन त्यसपछि बाबुराम प्रधानमन्त्री बन्नुहुन्छ भन्ने सुनेकी छु । त्यसपछि तपाईं हामी मन्त्री बनेर यो देशका लागि केही गर्न सक्छौं । यस्तो अवस्थामा बाबुरामको विरोध गर्नु गलत हो ।’