काठमाडौं, १६ चैत– अघिल्लो दिन (मंगलबार) उत्साजनक रुपमा बढेको सेयर बजार बुधबार (आज) भने २२.३३ अंकले ओरालो लागेको छ । मंगलबार १६१०.६२ विन्दुमा पुगेको सेयर बजार परिसूचक नेप्से बुधबार भने घटेर १५८८.२९ विन्दुमा पुग्यो ।
यस्तै ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सुचाङ्क (सेन्सिटिभ इन्डेक्स) पनि ४.६२ अंकले घटेर ३४५.८८ विन्दुमा पुगेको छ ।
मंगलबार तीनपटक सर्किट ब्रेक लगाउँदा समेत सेयर बजार ५ प्रतिशतले बढेको थियो । बुधबार भने सेयर बजारका प्राय सबैजसो समूहका उपसूचकहरु घटेका छन् ।
बुधबार ‘व्यापार’ बाहेक सबै समूहका उपसूचकहरु ओरालो लागे । सबैभन्दा बढी बीमा समूहको उपसूचक १५२.३२ अंकले घट््यो ।
सेयर विषलेशकहरुका अनुसार लगानीकर्ताले ‘प्रोफिट सेभ’ (नाफा बचत) गर्न खोज्दा सेयर बजारमा करेक्सन आएको हो । बुधबार बजारमा केही गिरावट आए पनि त्यसले लगानीकर्ता आत्तिने अवस्था नभएको एक सेयर विष्लेशकले बताए ।
यद्यपी बुधबारको सेयर बजारमा कारोबार रकम भने बढेको छ । मंगलबार १ अर्ब ३८ करोडको हाराहारीमा कारोबार भएको बजारमा बुधबार भने २ अर्ब ५६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।