
धनगढी – पुरस्कार दिने वा प्राप्त गर्ने आफैंमा सुखान्त अनुुभूतिको स्वर्णिम क्षण हो तर कुनै व्यक्तिलाई उसको योगदानको कदर स्वरुप पुरस्कार दिन भनी गरिएको एउटा उधारो निर्णयले उसको जीवन नै नारकीय बनायो भन्दा पत्यार नलाग्न सक्ला ।
करीब १ शताब्दीसम्म नै पश्चिम नेपालको तराईमा कमैया प्रथाले जरा गाडेर बस्यो । सीमा नाघ्दै गयो । अन्ततः हजारौं कमैया सडकमा ओर्लिए । आन्दोलन चर्कियो । २०५७ साउन २ गते तत्कालीन सरकारले कमैया मुुक्तिको घोषणा गर्यो ।
आन्दोलनको बिजारोपक गर्ने तथा महानायकको रुपमा सीताराम चौधरी (५८) कहलिए । फलतः २७ हजार मुक्तकमैया पुनःस्थापनाको संघारमा छन् अहिले ।
आज उनै सीतारामलाई तत्कालीन जिल्ला विकास समिति कैलालीले कमैया आन्दोलनको अभियन्ताको रुपमा पुरस्कार दिने निर्णय गर्यो । त्यही निर्णयका कारण उनी आजसम्म घरका न घाट छन् । जन्मजात कमैया रहेको उनको हातमा न त कमैयाको पहिचान पत्र छ, न त पुरस्कार र पुनःस्थापना नै ।
कमैयाका कहालीलाग्दा दिन
आमा चुन्की र बाबा गोपीलाल डंगौराको कोखबाट उनी २०१८ सालमा गौरीगंगा नगरपालिका (साविक चौमाला गाविस–१ खुरखुरिया) मा जन्मे । जन्मजात कमैयाको छोरो रहेका उनले पनि कमैया यात्रा शुरू गर्नुको विकल्प थिएन ।
उनले आफ्नो बाल्यकाल स्मरण गर्दै भने, ‘बाबा डाई (आमा) जमिनदार फलिराम डंगौराको घरमा कमैया बसेका थिए । त्यहाँ नै मेरो जन्म भयो । त्यही हुर्किए । ७/८ वर्षको उमेरमा जमिनदारको छेग्रहुवा (बाख्रा चराउने बालक), गयारुवा (गाई गोरु चराउने व्यक्ति) बने । अलि ठूलो भए । कमैया बसे ।’
त्यतिबेला श्रमशोषण पनि अधिक भएको सीताराम बताउँछन् । बाख्रा र गाई स्याहारेबापत खाना र वर्षमा एक जोर कपडा मात्रै पाएको र कमैया बसेबापत वर्षमा ३० किलो धान पाएको सम्झिन्छन् उनी ।
गयारुवा भएदेखि नै उनी अन्य गयारुवालाई संगठित गर्न थाले । आफूजस्तै २५ जना गयारुवाको मुख्य थिए उनी । वनमा बनाइएको गोठको मल बेचेर पैसा जोहो गर्थे । त्यही पैसाले मासु किनेर खानपिन गरी रमाइलो गर्थे । बाँकी पैसा आपसी हितमा खर्च पनि गर्थे ।
'सौकी' लिएर विवाह
त्यसताका उनी साविक उर्मा गाविसस्थित ठग्गु प्रधानको घरमा कमैया बसे । जहाँ वार्षिक ४० किलो धान ज्यालाबापत पाउँथे । काम भने सबै गर्नुपर्ने हुन्थ्यो । २ वर्षपछि आफ्नो ६० किलो हुनुपर्ने माग राखे ।
जमिनदार सहमतिमा आए । सोही मालिकको घरमा लगातार १४ वर्षसम्म कमैया बसे । मालिकसँग ९ हजार रुपैया सौकी (ऋण) लिएर २०४८ सालमा साविक चौमाला गाविस–१ की जोख्नी डंगौरासँग बिहे गरेको सीतारामले बताए । उनका ३ सन्तान भए । ऋण लिएको ४ वर्षपछि ३२ हजार सौकी पुग्यो ।
२०५२ सालताका एक गैरसरकारी संस्थाले कमैयाको सवालमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्यो । सचेतनामा वृद्धि हुँदै गएपछि उनले घरको जायजेथा बिक्री गरी सौकी चुक्ता गरेको र कमैया बस्न छोडेको बताउँछन् । त्यसताका संगठित प्रयासले ६३ जना कमैया मुक्ति भएको उनी सुनाउँछन् ।
कमैया बस्न छोडेपछि उनी ज्याला मजदुरी गर्ने र बाँकी समय गाउँका कमैया मुक्ति अभियान चलाउन थाले । लुथरनको सहकार्यमा साविक चौमाला, गदरिया, उर्मा र फूलबारी गाविसको अध्यक्ष समेत भए ।
२०५४ सालमा कमैया प्रथा उन्मूलन समाज स्थापना गरी आफैं अध्यक्ष भएर सीतारामले अभियान चलाए । उनकै नेतृत्वमा २०५५ माघमा साविक गदरिया गाविसका ७ जना कमैयाको १० हजारसम्मको सौकी (ऋण) मिनाही गरियो ।
कमैया आन्दोलन उत्कर्षमा पुग्यो । कमैयाको सवाल सडकदेखि सदनसम्म स्थान पायो । राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय मुद्दाको रुपमा स्थापित भयो । तत्कालीन सरकारले कमैया मुक्तिको घोषणा गर्न बाध्य भयो ।
कमैया आन्दोलनको दबाब स्वरुप सरकारले कमैयाको लगत संकलन गरी पुनःस्थापनाको कार्यक्रम बढायो । त्यसताका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला सम्मिलित संघर्ष समितिका अध्यक्ष पनि सीताराम आफैं थिए ।
दाङमा ७ सय ५, बाँके जिल्लामा १ हजार ९ सय २१, बर्दियामा ११ हजार ५ सय ५१, कैलालीमा ८ हजार ९ सय १० र कञ्चनपुरमा ४ हजार ४ सय १८ गरी २६ हजार ७ सय ५ जनाको लगत संकलन भयो । मुक्त घोषणाको १९ औं वर्षसम्म पुनःस्थापनाको कार्य अन्तिममा पुगेको छ ।
विभिन्न सम्मान
संघर्षको कदर गर्दै मुक्तकमैया महिला विकास मञ्च, थारु कल्याणकारिणी सभा, कमैया प्रथा उन्मूलन समाजलगायत संघसंस्थाले उनलाई अभिनन्दन र सम्मान गरे तर बिडम्बना आफैं कमैया बसेर मुक्ति आन्दोलन हाँकेका सीताराम आफू भने हालसम्म सरकारको सबै पुनःस्थापना कार्यक्रमबाट वञ्चित छन् ।
उनीसँग न त कमैया बसेको परिचयपत्र छ, न त पुनःस्थापना नै भए । उनी छूटमुक्त कमैया भएर धनगढी उपमहानगरपालिका–१७ पथरी गाउँमा ऐलारी जग्गामा बस्दै आएका छन् ।
जिविसको त्यो निर्णय
उनले भावुक हुँदै भने, ‘म विभिन्न आन्दोलन तथा पुनःस्थापनाको अभियानमा सक्रिय थिए । लगत संकलनमा सरकारलाई सहयोग गरे तर आफैं छुटेछु । तत्कालीन जिल्ला वन अधिकृत लगायतले पनि भन्न थाले – सीताराम चौधरी आफैं कमैयाको नेता हो । यसलाई पुनःस्थापना अभियानको अन्तिममा पुनःस्थापना गर्नुपर्छ । पहिल्यै पुनःस्थापना गरिए अभियानमा ध्यान दिँदैन । मलाई पनि पछि त भइहाल्छ भन्ने लाग्यो ।’
२०५८ सालताका तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा जिल्ला विकास समिति कैलालीको सभापति छेदालाल चौधरी भए । जिल्ला सभापति चौधरीकै अध्यक्षता कमैया पुनःस्थापना समितिको बैठक बस्यो । बैठकबाट पुनःस्थापनाको काम सम्पन्न भएपछि परिचयपत्रसहित पुरस्कार स्वरुप १० कट्ठा दिने भनी आफ्नोबारे निर्णय भएको उनी बताउँछन् तर कमैया पुनःस्थापनाको कार्य लम्बिँदै गएपछि उनी हालसम्म सो निर्णयकै कारण घरको न घाटको भएको भन्दै दुःखेसो पोख्छन् ।
गहभरि आँशु पार्दै उनले भने, ‘आफैं अगुवा थिए । सबैलाई पुनःस्थापित गराएर पछि आफूले लिने निर्णय ठीकै पनि लाग्यो तर मलाई के थाहा यो पुनःस्थापनाको कार्य लामो होला । जटिल होला । सबै सुविधाबाट वञ्चित भएछु । अरुलाई न्याय गरे, आफैं अन्यायमा परेछु ।’
उनका सहकर्मी तथा अर्का कमैया मुक्ति आन्दोलनका अभियन्ता यज्ञराज चौधरीले सीताराम चौधरी विशुद्ध र निःस्वार्थ भावका साथ आन्दोलनमा होमिएर नेतृत्व गरेको बताउँछन् । साविक जिविसको निर्णय गराउन पहल गर्नेेमा पनि आफैं रहेको बताउँदै यज्ञराजले विभिन्न कारण लम्बिएको पुनःस्थापना कार्यक्रमले सीताराम सबै कार्यक्रमबाट वञ्चित भएको बताउँछन् । उनलाई न्याय दिनुपर्नेमा उनको जोड छ ।
थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी साविक जिविसको निर्णय देख्नमा ठीकै भएपनि बदनीयतपू्र्ण भएको ठोकुवा गर्छन् । उनी पनि पुुरस्कारको नाममा सीताराममथि अन्याय भएको तर्क गर्छन् ।