
काठमाडौं–सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही गर्ने भएको छ ।
उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई १५ दिनको म्याद दिइएको छ । गौ–हत्या जस्तो गम्भीर अपराधमा संलग्नलाई कानूनअनुसार हदैसम्मको कारवाही गरिने गृह मन्त्रालयले जनाएको छ । “अपराधमा संलग्नलाई उन्मुक्ति नदिइने कुरामा गृह मन्त्रालय प्रतिबद्ध छ”, मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । समितिलाई घटनाको अनुसन्धान र सहयोग पु¥याउन सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ ।
नेपालगन्जबाट बिहिबार दैलेखका लागि लगिएका गाई र गोरु सुर्खेतको विरेन्द्रनगर नगरपालिकास्थित दैलेख–सुर्खेत सडकखण्डको कटकुवा जङ्गलमा मरेको फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गाई र गोरुको ओसारपसार, अस्वाभाविक मृत्यु र घाइते भएको घटनामा कसको सम्बन्ध थियो भन्नेबारे यकिन गर्नसमेत समितिलाई निर्देश गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरी र ट्रक चालकले विरेन्द्रनगर नगरपालिका–१४ कटकुवा जङ्गलमा गाई र गोरु छाडेर फर्किएका थिए । नेपालगन्ज–२१ बेतनी र फूलटे बीचमा रहेको काञ्जीहाउसबाट नगरप्रहरीको नेतृत्वमा आठ ट्रकमा गाई र गोरु दैलेखको श्रीस्थान पठाइएको थियो । बीचमा गाई र गोरु बिरामी भई मर्न थालेपछि उनीहरुले बीच जङ्गलमै छाडेको बताइएको छ ।
खोजी गर्दा शनिबारसम्म १६७ गाईगोरु फेला परेको छ । त्यसमध्ये १४६ गाईगोरु नेपालगन्ज फिर्ता गरिएको छ भने केहीलाई दैलेख पठाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए । अहिलेसम्म ३० गाई र गोरु मरेको फेला परेको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।
मेयर माथि प्रश्न
गाई–गोरु मृत्यु प्रकरणमा गाई चुनाव चिन्ह भएको पार्टी रापप्राबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा विजयी धवलशमशेर राणाको लापरबाही देखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपायाको व्यवस्थापनमा लापरवाही गरेकै कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित कटकुवा वन क्षेत्रमा गाईगोरु मरेको अवस्थामा भेटिएको हो ।
उपमहानगरपालिकाले छाडा गाई र गोरुको उचित व्यवस्थापन गर्ने भन्दै दैलेख पठाउँदा बीचबाटोमै गाईगोरु शुक्रबार मृत फेला परेका थिए ।
नगरपालिका प्रमुख धवलशमशेर राणाले गाईलाई मारेको नभई ट्रकमा च्यापिएको मरेको दाबी गरेका छन् । तर स्थानीयले गाईलाई भीबाट खसालेर मारेको दाबी गरेका छन् ।
बाबुरामको आरोप
समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको आरोप लगाएका छन् ।
समाजवादी पार्टीको ३ नम्बर प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा भट्टराईले यस्तो आरोप लगाएका हुन् ।
‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड छ’, उनले भने, ‘सत्तरी वर्षभन्दा पुरानो नेपाली कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिँडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ । त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको आरोप लगाए ।
‘एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ । अर्कोले साम्यवादको नाममा नेताहरुले आफ्नो महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन्,’ उनले भने, ‘अर्कोले धर्मको पाखण्ड देखाएर त्यस्तो अपराध गरिरहेका छन् । यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो ।’
अध्यक्ष भट्टराईले नेपाली जनता पुराना दलहरुको पाखण्डबाट मुक्त हुन चाहिरहेको दावी गर्दै समाजवादी पार्टी विकल्प बनेर आएको बताए ।
सेजनको अध्यक्षमा गौतम
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमिति चयन भएको छ । सेजनको शनिबार सम्पन्न २०औँ साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले अध्यक्षमा भीमप्रसाद गौतम, उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेललाई चयन गरेको छ । यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् ।
पर्यटनमन्त्रीद्वारा कार्ययोजनाबारे सभापति देउवालाई जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो एक वर्षको कार्ययोजना र नेपाल भ्रमण वर्ष २०२० को बारेमा शनिबार जानकारी गराएका छन् । देउवा निवास बूढानीलकण्ठमा पुगेर उनले आफ्नो मन्त्रालयको काम, कार्ययोजना तथा भ्रमण वर्ष सफल बनाउनेबारे जानकारी गराएका हुन् ।
“मैले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु”, उनले भने ।
भ्रमण वर्ष र मन्त्रालयको कामबारे सभापति देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह र सुझाव दिएका थिए ।
सो अवसरमा मन्त्री भट्टराईले सभापति देउवालाई कार्ययोजनाको पुस्तक उपलब्ध गराएका थिए ।
भेटमा उनले मुलुकको विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष दुवैको आवश्यकतापर्ने भएकाले काङ्ग्रेस सभापति देउवासँग सहयोगका लागि आग्रह गरेका थिए ।
भेटमा सभापति देउवाले भ्रमण वर्ष राष्ट्रिय विषय भएकाले सफल पार्नमा प्रतिपक्षको सहयोग रहने बताए ।
मन्त्री भट्टराईले भदौ ९ गते मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी र परिणाममुखी बनाउने रणनीतिका साथ प्रमुख प्राथमिकताका १४१ बुँदे कार्ययोजना ल्याएका थिए ।
दूधको मूल्य बढाउन माग
दूध उत्पादक किसानले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् ।
राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष आनन्द निउरेले प्रतिलिटर दूधको मूल्य रु १० बढाउन माग गरेका हुन् । उनले तीन वर्षदेखि दूधको मूल्य एउटै रहेकाले बढाउन माग गरिएको बताए ।
साफ च्याम्पियनसिपको उपाधि भारतलाई
भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यू–१५ मा नेपालले अहिलेसम्म च्याम्पियन हुनसकेको छैन । त्यस्तै यससँगै तेस्रोपटक फाइनल पुगेको नेपाललाई उपाधि जित्न फेरि पनि भारत नै तगारो बन्यो ।
यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल दुवैपटक भारतसँग नै पराजित भएको थियो । त्यतिबेला उक्त च्याम्पियनसिप यू–१६ का नाममा हुने गर्दथ्यो । नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने खेलको दोस्रो हाफमा चार गोल खायो । भारतको जितमा महेसन सिंहले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ४१औँ मिनेटमा मन्दिप माकेसले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए भने खेलको पहिलो हाफको अत्तिरिक्त समयमा शिवजित सिंहले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए ।
त्यस्तै खेलको टैसन सिंहले खेलको ५२औँ मिनेटमा गोल गरे भने हिमांशु जनगराले खेलको ६५औँ मिनेटमा गोल गरे । भारतका अर्का खेलाडी सिदार्थ नोङमेइकपामले दुई गोल थपे । उनले खेलको ७६ र ८०औँ मिनेटमा दुई गोल गरे । राउण्ड रोबिन लिगको आधारमा भएको उक्त प्रतियोगितामा नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो भने भारत शीर्षस्थानमा रहेर फाइनल पुगेको हो ।
प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो ।
वडाध्यक्ष धरौटीमा रिहा
यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् । वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएर पाँच दिनपछि शुक्रबार तारेखमा छाडिएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए
वडाध्यक्ष भण्डारीविरुद्ध सोही वडाकी एक २१ वर्षीय युवतीले गत सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी अपाङ्गता रहेकी दलित थरकी ती युवतीलाई वडाध्यक्ष भण्डारीले फोनमार्फत पटक–पटक यौनजन्य दुव्र्यवहार गर्दै आएको भनी प्रहरीमा जाहेरी दिएकी थिइन् ।