१० असार २०८३, बुधबार

तीजमा दर खाने अनदीको चामल पाउनै मुस्किल

तीजमा दर खाने अनदीको चामल पाउनै मुस्किल

चितवन–तीजको लामो र निराहार व्रतमा भोक नलागोस् भन्नका लागि अघिल्लो रात दर खाने प्रचलन रहिआएको छ । दरमा खाने चीज आडिलो भएमा भोलिपल्ट दिनभर नाचगानमा रमाउन सकिने भएकाले दरमा अनदीको चामलको भात (लट्टे) खाने गरिन्छ । 

पहाडी समुदायमा लट्टे बनाउनका लागि प्रयोग गरिने अनदीको धान लगाउने प्रचलन कम हुँदै गएपछि चामलको अभाव हुन थालेको हो । पाइहालेमा पनि महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहिआएको छ । लामो समयदेखि चामल मिल सञ्चालन गर्दै आएका उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्ष चिरञ्जीवी सुवेदीका अनुसार यस वर्ष अनदीको चामल प्रतिकेजी रु २२५ मा बिक्री भएको छ । आफूले प्रयोग गर्न राखेको धानबाट बढी भएर बिक्री गर्नेबाट पाएको थोरै चामल मात्र बिक्री गर्न पाएको सुवेदीले बताए। 

उनले भने, “थोरै थियो, किन्न चाहनेलाई पु¥याउन सकिएन ।” हरेक वर्ष चामलको अभाव हुँदै गएको उनको भनाइ छ । उद्योग वाणिज्य महासङ्घका प्रदेश नं ३ का उपाध्यक्षसमेत रहेका गौतम खाद्य उद्योगका सञ्चालक राजन गौतम आफ्नो मिलमा अनदीको चामल र धान बिक्री गर्न कोही नआएपछि बजारबाट खोजेर घरका लागि चामल किन्नु परेको बताउँछन् । उत्पादन कम हुने र अग्लो हुँदा हावाले ढाल्ने भएकाले धान लगाउने क्रम घटेको उनको भनाइ छ । 

भरतपुर महानगरपालिका–११ मा रहेको वशिष्ठ तेल उद्योगका सञ्चालक कृष्ण भट्टराई चामल नपाएर बिक्री गर्न नसकेको बताउँछन्। पोखराबाट आएको चामल सकिएपछि खोज्दा पनि नपाएको उनको भनाइ छ । ग्राहकहरु आउने क्रम भइरहे पनि चामलको अभावमा फर्कनुपरेको उनले बताए ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठले अनदीको धान लगाउने क्रम बर्सेनी घट्दै गएको बताए। उन्नत जातको धान प्रतिहेक्टर छ टनसम्म फल्ने भए पनि अनदीको धान मुस्किलले दुई टन फल्ने भएकाले धेरै जमीन हुनेले घरायसी प्रयोजनबाहेक व्यावसायिक प्रयोजनका लागि लगाउन छाडेको उनको भनाइ छ । 

जिल्लामा २९ हजार हेक्टरमा धान लगाउने गरिन्छ । गत आर्थिक वर्षमा ९७ हजार ४४० मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहेको छ । चितवनमा मुस्किलले दुई प्रतिशत मात्र अनदीको धान लगाउने गरेको श्रेष्ठले जानकारी दिए। त्योमध्ये पनि धेरै थारू समुदायले चिचर बनाउन प्रयोग गरिने अनदी लगाउने गरिन्छ । लट्टेका लागि रातो अनदी प्रयोग हुन्छ भने चिचरका लागि सेतो अनदी प्रयोग हुने गर्दछ । 

श्रेष्ठले पुरानो जात भएकाले उत्पादन कम भएकै कारण कृषकले अनदीको धान लगाउन छाडेको बताए। पछिल्ला वर्षहरुमा झण्डै एक महीनादेखि इस्टमित्र, आफन्त, साथीभाइ, कार्यालयका महिला कर्मचारीलाई दरको नाममा भोज खुवाउने प्रचलन बढेको छ ।

दरका लागि अनदीको चामलको माग बढेको भए पनि उत्पादन घटेपछि मूल्य आकाशिएको हो । यससँगै पुस १५ मा पनि लट्टे खाने चलन रहेको छ । अन्य चामलको तुलनामा अनदीको चामलको लट्टे कम बढ्ने भएकाले महँगो चामलको लट्टे थोरै व्यक्तिलाई धेरै आवश्यक पर्ने गर्दछ । नारायण अधिकारी, रासस

salt training

कमेन्ट गर्नुहोस्