
काठमाडौं – टर्कीको एक खाली सडकमा एक स्कूटर चालिकाले केही सेकेन्डको अन्तरमा एकै पैदलयात्रीलाई दुईपटक ठक्कर दिएकी छन् ।
टर्कीको उत्तरपश्चिममा रहेको कानाक्काले प्रान्तमा महिला उक्त व्यक्तिको पछाडि बिस्तारै आइपुग्छिन् तर उनलाई छल्न नसकी ठोक्न पुग्छिन् ।
ती दुईजनाले केही कुरा गरेको अनि ठक्कर खाने पुरुष बाटो काटेर गएको देखिन्छ ।
उक्त महिलालाई स्कूटरको वजनले समस्या परेको जस्तो देखिन्थ्यो । उनले बल्लबल्ल स्कूटर चलाउँदै फेरि तिनै पैदलयात्रीतिरै जान्छिन् ।
उनले फेरि पनि तिनै पैदलयात्रीलाई ठक्कर दिन्छिन् ।
स्कूटर गएर पुरुषको गोडामा लाग्छ अनि उनी सडकमा पछारिन्छन् ।
महिला पनि भुइँमा पछारिन्छिन् र स्कूटर पनि उत्तानो पर्छ ।
ती पुरुष तत्कालै उठ्छन् र दुईदुईपटक ठक्कर खाएपनि स्कूटर उठाउँछन् ।
दुवैजनालाई सामान्य चोटपटक मात्र लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी