काठमाडौं – अघिल्लो साता सुर्खेतमा २३ वटा गाईलाई भीरबाट खसाएर मारिएको अमानवीय घटना भएसँगै उता भारतको बिहारमा नीलगाईमाथि क्रूरता गरिएको छ ।
वैशालीमा नीलगाईलाई जिउँदै गाडिएको घटना सार्वजनिक भएको छ । जिउँदो नीलगाईले मृत्युको डर आँखामा लिएर आफूमाथि माटो हालेको चित्र सार्वजनिक भएको छ ।
किसानहरूलाई फसल बचाउनका लागि नीलगाई मार्ने छुट सरकारले दिएपछि विगत चार दिनमा ३०० भन्दा बढी नीलगाई मारिएका छन् । तर वैशालीको गोरौलमा नीलगाईलाई मारिएको तरिका चाहिँ अत्यन्तै क्रूर छ ।
जेसीबी डोजरले जिउँदो नीलगाईलाई एउटा खाल्डोमा धकेलेर माटो हालेर मारिएको हो ।
नीलगाईलाई गोली हानेर मारेपछि बल्ल गाड्नुपर्नेमा वन विभागका कर्मचारीहरूले जिउँदै नीलगाई समातेर गाडेका हुन् ।
वन अधिकारी भारतभूषण पालले नीलगाई मार्नका लागि सरकारबाटै आदेश आएको तर यसरी जिउँदै गाडिएकोलाई चाहिँ छानबिन गरिने बताए ।
एजेन्सी