
काठमाडौं- आइतवार दोहोरो अंकले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४५ बिन्दुले घटेर एक हजार १७०.३४ मा पुगेको छ । आज नेप्से १.२२ प्रतिशतले घट्यो । यस्तै सेन्सेटिभ परिसूचक २.९८ अर्थात १.१५ प्रतिशतले ओरालो लागी २५६.३१ बिन्दुमा झरेको छ ।
नेप्से उच्च अंकले घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । कूल १७१ कम्पनीको १३ लाख ८० हजार ६६० कित्ता शेयर रु ४० करोड ७५ लाख ६९ हजार ७१२ मूल्यमा खरीदबिक्री भए । आइतवार कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर २९ करोड ७३ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । स्टकका अनुसार आज कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ ।
बैंकिङ १२.५९, होटल ०.३४, विकास बैंक १२.०९, जलविद्युत् १४.७४, वित्त ६.०४, निर्जीवन बीमा ७१.२७, उत्पादन २०.२, अन्य ७.३६, लघुवित्त २४.९८, जीवन बीमा ९५.६९ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ ।