
काठमाडौँ - वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन बमोजिम वृद्धि गरिएको धरौटी जम्मा गर्ने इजाजतपत्रवाला म्यानपावरहरूको संख्या ८ सय ४८ पुगेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
विभागका निर्देशक भिष्मकुमार भुसालले ति संस्थाहरुको नगद धरौटीको भेरिफाइ गर्ने कार्य बिहीवार हुने बताएका छन् ।
कुनै संस्थाले बढेको धरौटी एक्लै पुरा गर्न नसक्ने भएमा वा एकै व्यक्तिले एक भन्दा बढी इजाजतपत्र लिएको अवस्थामा संस्था गाभिने मौका समेत दिइएको भुसालले बताए ।
उनले ३ सय ३ वटा संस्था गाभिएर १ सय ३१ संस्था बन्न पुगेका बताए ।
यसरी गाभिने संस्थाहरुमध्ये ६ वटा संस्था गाभिइ एउटा बनेको, ५/५ पाँच वटा संस्था गाभिएर बनेका २ वटा, ४/४ संस्था गाभिएर बनेका संस्था ९ वटा रहेको र , ३/३ संस्था गाभिएर बनेका म्यानपावरको संख्या १३ रहेका छन् भने २/२ वटा म्यानपावर गाभिएर बनेका नयाँ म्यानपावरको संख्या १ सय ६ रहेका छन् ।
उनका अनुसार वैदेशिक रोजगारका लागि इजाजतपत्र लिएका कूल १ हजार ५ सय २७ संस्थामध्ये विभिन्न समयमा गरी २ सय ४ संस्था पहिल्यै खारेज भैसकेका थिए ।
भदौ १ गतेसम्म १ हजार ३ सय २३ संख्यामा इजाजतपत्रवाला कानूनी हिसाबले अस्तित्वमा रहेका रहेका थिए । कारोबार रोक्का भएका र निष्क्रिय रहेकाहरुले समेत बैङ्क ग्यारेन्टी र धरौटी राख्न पाउने भएकोले बढेको धरौटी राख्न नसकेकै कारणले खारेजीमा पर्ने इजाजतपत्रवाला संस्थाको संख्या ३ सय ३ पुगेको छ ।
भुसालले अहिले प्राप्त तथ्यांक रुजु गर्ने क्रम जारी रहेकोले यसमा तलमाथि पनि हुन सक्ने बताए ।