०७ असार २०८३, आइतबार

व्यावसायिकरूपमा कालिजपालन

व्यावसायिकरूपमा कालिजपालन

बनेपा– विभिन्न पेशामा संलग्न युवाको समूहले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ इटापु साँगामा व्यावसायिकरूपमा कालिजपालन शुरू गरेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा विभिन्न व्यापार/व्यवसाय गर्दै आएका आठ जनाको समूहले ‘नासिका वायल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’ स्थापना गरी व्यवसाय थालेको हो ।

सञ्चालकसमेत रहनु भएका बनेपा नगरपालिका–१४ का ईश्वर राउतको करीब २१ रोपनी जग्गामा तारबार गरेर कालिजपालन शुरू गरिएको छ । जग्गा, कालिज तथा दाना खरीद, अन्य संरचना निर्माणमा हालसम्म रु एक करोड ७५ लाख खर्च भएको सञ्चालक उत्तर केसीले बताए। कालिजको मासुको माग अत्यधिक भएपछि व्यावसायिकरूपमै कालिजपालन शुरू  गरेको उनले बताए। साठी कालिजबाट शुरू गरेका उनीहरुसँग एक हजार २०० कालिज रहेका छन् । 

बेल्जियमबाट अण्डा ल्याई नेपालमै ह्याचरीमार्फत कोरलेको चल्ला (कालिज) अहिले व्यावसायिकरूपमा पाल्न थालिएको हो ।

भीमेश्वर नगरपालिका–७ चरिकोटका केसी प्रतिकालिज रु तीन हजारदेखि रु चार हजारसम्ममा बिक्री गर्ने गरेको बताउँछन् । पहिलो पटक पोखरामा व्यावसायिकरूपमा कालिजपालन गरेको देखेपछि साथीहरुसँग मिलेर व्यवसाय शुरु गरेको प्रालिका अध्यक्ष नवराज तिमल्सिनाले बताए। “एक वर्ष भित्र १५ हजारदेखि २० हजार कालिज पुर्‍याउने लक्ष्य छ”, उनले भने। उक्त समूहले कालिजसँगै बाख्रापालनसमेत शुरु गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्