वासिंगटन, १८ चैत-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्कालाई ह्वाइट हाउसमा अर्को पनि जिम्मेवारी दिने तयारी गरिएको छ । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको प्रशासनमा बेतलबी कर्मचारीका रुपमा राष्ट्रपतिको सहायकको जिम्मेवारी दिन लागिएको जनाएको छ ।

ह्वाइट हाउसमा उनलाई यसअघि नै बेग्लै कार्यालय उपलब्ध गराइएको थियो, आजको राजधानीमा खबर छ । अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाई जेर्ड कुश्नरलाई ओबामाले यसअघि नै आफ्नो सल्लाहकारमा नियुक्त गरेका थिए । सहायक सल्लाहकार नियुक्त हुने भएपछि ३५ वर्षीय इभान्काले भनेकी छन्, ‘मेरो व्यक्तिगत क्षमताले राष्ट्रपतिलाई सल्लाह दिने विषयमा चिन्ता छ ।’
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इभान्कालाई फस्ट डटर हुनुका बाबजुद यो नयाँ जिम्मेवारीमा चयन गर्न पाउँदा खुसी लागेको छ ।’ उनले नयाँ जिम्मेवारीका लागि पनि ह्वाइट हाउसबाट तलब सुविधा भने लिने छैनन् । यो औपचारिक जिम्मेवारी दिनु अगावै गत साता नै उनलाई ह्वाइट हाउसमा कार्यालय नै स्थापना गरिएपछि त्यसबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भएको थियो । ट्रम्पको कदम नैतिक रुपमा ठीक नभएको भन्दै आलोचना समेत भइरहेको छ ।