
काठमाडौं, १८ चैत — अमेरिकाको इन्डियाना राज्यमा एक शिख समुदायका चिकित्सकलाई ज्यान मार्ने धम्की आएको छ ।

मोनरो अस्पतालमा कार्यरत चिकित्सक अमनदीप सिंहलाई मोबाइलमा एसएमएस गरेर धम्की दिइएको थियो । यसलाई घृणाजन्य अपराध (हेट क्राइम) अन्तर्गत राखेर हेरिएको छ ।
एमएमएस कसले पठाएको भन्ने खुलेको छैन । धम्की दिनेले पहिला पनि धेरैलाई मारिसकेको दाबी गर्दै आफूले जसको फोनबाट धम्की दिएको हो, त्यो व्यक्तिको पनि हत्या गरिसकेको बताएको छ ।
अमनदीप अब आफ्नो अर्को लक्ष्य रहेको उक्त व्यक्तिले धम्कीमा उल्लेख गरेको शिख पोलिटिकल एक्सन कमिटीले बताएको छ । इन्डियानामा शिखहरूलाई यसअघि पनि धम्की आइसकेको कमिटीका अध्यक्ष गुरिन्दर सिंह खालसाले बताए ।
तर प्रहरीले जाँच गर्दा फोनको मालिक जिउँदै रहेको र उसको नम्बर कसैले ह्याक गरेको पायो ।
नश्लीय कारणबाट प्रेरित भई झुटो धम्की दिइएको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अमनदीप सन् २००३ देखि अमेरिकामा छन् ।
दैनिक भास्करबाट