
काठमाडौं – जर्मनीको राजधानी बर्लिनमा रहेको टेगेल विमानस्थलमा सोमवार अवतरण हुन लागेको एक विमान बेस्सरी हल्लिएपछि १३ जना घाइते भएका छन् भने एक महिला जीवनमरणको स्थितिमा पुगेकी छन् ।
युरोविंग्स एयरबस ए३१९ टेगेल विमानस्थलमाथि हुँदा बेस्सरी हल्लिएको थियो । घाइते भएका १३ मध्ये आठजनालाई थप उपचारका लागि अस्पताल लगिएको थियो । चोट लाग्नेहरूलाई टाउकोमा घाउ, औंलामा फ्र्याक्चर र अन्य भागमा गहिरो घाउ लागेको छ ।
इटलीको लामेजिया टर्मेबाट आइरहेको विमान अवतरण हुनै लाग्दा विमानका क्याप्टेनले ९ हजार मिटरको एल्टीट्युडमा टर्बुलेन्स देखे ।
त्यसपछि उनले प्रिकसनका लागि सीट बेल्टको संकेत अन गरे ।
अनि क्याप्टेनले जर्मन र अंग्रेजी दुवै भाषामा यात्रुहरूलाई आँधीको जस्तो परिस्थिति बनेको चेतावनी दिँदै सीटमा बस्न र बेल्ट बाँध्न भने ।
तर यात्रुहरूले उनलाई बेवास्ता गरे अनि सीटबेल्ट खुलै राखेको एभिएसन२४ डट्डेले लेख्यो ।
‘घोषणा हुँदै गर्दा साँच्चिकै टर्बुलेन्स थियो र त्यतिखेर केही यात्रुहरूले सीटबेल्ट बाँधेका थिएनन् अनि उनीहरू नै घाइते भए,’ युरोविंग्स प्रवक्ताले बताइन् ।
विमान अवतरण गरिएपछि आपतकालीन सेवाहरू विमानतर्फ दौडिए ।
निकै गम्भीर चोटपटक लागेकी महिला जीवनमरणको स्थितिमा रहेको बताइएको छ ।
अन्य यात्रुहरूलाई टर्मिनलतर्फ लगिएको थियो ।
एजेन्सी