
काठमाडौं – चीनको हेनान प्रान्तमा रहेको एक सर्कस हेर्न गएका मानिस पिँजडाभित्रको बाघ बाहिर निस्केपछि भागाभागमा परेका छन् ।
घटनाको भिडियो फूटेजमा बाघ पिँजडाको माथिल्लो भागबाट भागेको देखिन्छ ।
उक्त बाघ सर्कसबाहिर निस्केपछि सडक पुगेको अनि कारहरूमा ठोकिएर मरेको स्थानीय चिडियाखानाले जनाएको छ ।
शुक्रवार बिहान ९ बजेतिर बाघ भागेको थियो ।
भागेर ऊ नजिकैको मकैबारी पुगेको युआनयाङ कम्युनिस्ट पार्टी कमिटीको प्रचार विभागले जनाएको छ ।
प्रहरी र स्थानीय अधिकारीहरूले १२ घन्टापछि बाघ फेला पारेका थिए ।
ड्रोन र थर्मोग्राफिक क्यामराको सहायता लिएर गरिएको खोजपछि बाघ भेटिएको हो ।
शिङशियाङ चिडियाखानाका एक प्रवक्ताले स्थानीय दाहे दैनिकलाई चिडियाखाना ल्याइँदा बाघ मरिसकेको बताए ।
गुडिरहेका गाडीमा ठोकिएर बाघको मृत्यु भएको हुन सक्ने प्रवक्ताको आशंका छ ।
स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।
सर्कस समूहका दुई निर्देशकलाई प्रहरी अनुसन्धान जारी रहुन्जेलका लागि हिरासतमा लिइएको छ ।
एजेन्सी