
काठमाडौं – भारतको झारखण्डकी मुन्डा बिर्सीले प्रेसर कूकरको सिट्ठी उफ्रिएर खप्परमा धसिन पुगेपछि एउटा आँखाको दृष्टि गुमाएकी छन् ।
उनले दाल पकाइरहेको बेलामा दुर्घटना भएको थियो ।
बलिरहेको ग्यास चुलोमा कूकर राखेर उनी बगैंचामा काम गर्न गएकी थिइन् अनि उनले कूकरलाई बिर्सिन् ।
सम्झेर भान्सामा आउँदा कूकरको सिट्ठी उफ्रियो अनि उनको देब्रे आँखामा गाडियो ।
सिट्ठी सात सेन्टीमिटर लामो र दुई सेन्टीमिटर चौडा थियो ।
पराल काट्ने मशिनको आवाजका कारण उनले सिट्ठी बजेको नसुनेको पछि बताइन् ।
उनलाई स्थानीय अस्पताल लगिएको थियो तर चिकित्सकहरूले उनलाई सुविधासम्पन्न अस्पताल जान भनेका थिए ।
त्यसपछि उनलाई ५६ किलोमिटर पर रहेको अस्पताल लगिएको थियो ।
चिकित्सकहरूले बाहिरबाट हेर्दा गोली आकारको सिट्ठी देखेनन् । सीटी स्क्यान गर्दा मात्र सिट्ठी उनको खप्परमा गहिरो गरी पसेको देखियो ।
घटनाको दुई दिनपछि चिकित्सकहरूले शल्यक्रिया गरेर सिट्ठी निकाले । तर नसामा दखल परेकाले बिर्सीले दृष्टि गुमाउन पुगिन् ।
एजेन्सी