
तनहुँ – वर्षैपिच्छे नागरिकता र राहदानी लिनेको संख्या बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १० हजार २५ जनालाई नेपाली नागरिकता वितरण गरेको छ ।
कार्यालयले वंशजका आधारमा १० हजार ५ र वैवाहिक अङ्गीकृत २० गरी कूल १० हजार २५ नागरिकता वितरण गरेको हो ।
कार्यालयबाट ५ हजार ६७९ जनाले प्रतिलिपि लिएका छन् । ४ जनाले नागरिकता परित्याग गरेका छन् भने १ जनाको नागरिकता रद्द गरिएको प्रशासन शाखाका सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर आलेले जानकारी दिए ।
कार्यालयले गत साउन मसान्तसम्म ९०२ नागरिकता वितरण गरेको छ । वंशजका आधारमा ९०२ र २ वैवाहिक अङ्गीकृत रहेका सो कार्यालयले जनाएको छ । साउनमा मात्रै नाबालक परिचयपत्र ५६ लाई प्रदान गरिएको छ ।
कार्यालयले पछिल्लो समय स्थानीयलाई सहज सेवा प्रदान गर्न गाउँमै घुम्ती शिविर राखेर सेवा प्रवाह गर्दै आएका कारण जिल्ला प्रशासन कार्यालयमा आई नागरिकता बनाउने संख्यामा कमी आएको छ । जिल्लाका १० वटै स्थानीय तहमा हरेक महिनाको १ पटक नागरिकता घुम्ती शिविर सञ्चालन गर्ने योजनाअनुरुप शिविर गरिँदै आएको कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले बताए ।
जिल्ला प्रशासन कार्यालयले आव २०७५/७६ मा ४ हजार ९०७ लाई राहदानी वितरण गरेको छ । कार्यालयले जिल्लाबाट सिफारिश भएका ६ हजार १०५ लाई राहदानी प्रदान गरेको छ भने २ हजार २१९ ले द्रुतसेवामार्फत सिफारिस भई काठमाडौंबाट राहदानी लिएका छन् ।
कार्यालयका अनुसार पछिल्लो समय दैनिक २५/३० जनाको हाराहारीमा सेवाग्राही राहदानीका लागि कार्यालय आउने गरेका प्रशासकीय अधिकृत ढकालले बताए ।
केही युवापिँढी अध्ययनका लागि र केही वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेका छन् । उनले भने, ‘कार्यालयमा गत वर्षको तुलनामा यस वर्ष राहदानी बनाउन आउनेको संख्या बढ्दै गएको छ ।’ उनका अनुसार कार्यालयले २०७६/७७ को साउन मसान्तसम्म ५३६ जनालाई राहदानी प्रदान गरेको छ ।