३१ असार २०८३, बुधबार

अफगानिस्तानमा लड्नका लागि जिहादीहरूलाई तालिम दिएर आफूहरूले गल्ती गरेको इमरान खानको भनाइ

अफगानिस्तानमा लड्नका लागि जिहादीहरूलाई तालिम दिएर आफूहरूले गल्ती गरेको इमरान खानको भनाइ

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा आतंकवादविरुद्धको लडाईंमा अमेरिकालाई साथ दिएर त्यसको निकै भारी मूल्य चुकाउनुपरेको बताएका छन् । 

अमेरिकाले आफ्नो असफलताको दोष पाकिस्तानमा थोपरेको र यो सही नभएको उनको भनाइ छ । 

रसिया टुडेलाई दिएको अन्तर्वार्तामा खानले शीतयुद्धका बेलामा अफगानिस्तानमा सोभियत संघविरुद्ध लड्न पाकिस्तानले नै जिहादीहरू तयार पारेको र अमेरिकाले त्यसमा लगानी गरेको बताए । तर एक दशकपछि अमेरिकाले नै ती जिहादीहरूलाई आतंकवादी घोषणा गर्‍यो ।

सेप्टेम्बर ११ को आक्रमणपछि पाकिस्तानले तालिबानविरुद्धको लडाईंमा अमेरिकाको साथ दिएर त्यसको दुष्परिणाम भोग्नुपरेको इमरान खानको भनाइ छ । उनले भने, ‘हामीले ९/११ प्छि आतंकवादविरुद्ध अमेरिकी युद्धमा भाग नलिएको भए अहिले हामी संसारको सबभन्दा खतरनाक देश हुने थिएनौं ।’

सन् १९८० को दशकमा सोभियत संघले अफगानिस्तानमा आक्रमण गर्दा सोभियतविरुद्ध पाकिस्तानले मुजाहिद्दीनलाई प्रशिक्षण दिएको थियो र अमेरिकी जासूसी संस्था सीआईएले त्यसमा लगानी गरेको थियो । त्यसको एक दशकपछि अमेरिकीहरू अफगानिस्तान आउँदा पाकिस्तानका तिनै समूहलाई जिहादी नभनी आतंकवादी भनियो । यो निकै ठूलो विरोधाभास थियो । 

इमरान खानले भने, ‘अमेरिकाले अफगानिस्तानमा तालिबानविरुद्ध कारवाही गर्न थाल्दा पाकिस्तान तटस्थ बस्नुपर्थ्यो । अफगान युद्धमा संलग्न भएका कारण ती समूह हाम्राविरुद्ध लागे ।’

आफ्नो देशका ७० हजारजनाले ज्यान गुमाएको र अर्थतन्त्रलाई १०० अर्ब डलरको घाटा लागेको इमरान खानले बताए । 'अनि अफगानिस्तानमा अमेरिका असफल भएपछि हामीलाई जिम्मेवार ठहर्‍याइयो । पाकिस्तानमाथि यो अन्याय हो,' उनले भने ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानको सहायताले आयोजित तालिबानसँगको वार्ता रद्द गरेका थिए । वार्ता रद्द भएपछि पाकिस्तान अप्ठ्यारोमा परेको छ । अमेरिकाले तालिबानलाई रोक्नका लागि पाकिस्तानमाथि बढी दबाब दिनेछ । अनि तालिबान वार्ताको नाममा पाकिस्तानले कश्मीरको विषय पनि उठाइरहेकोले भारत चिन्तित थियो र वार्ता रद्द गरिएपछि भारतले राहत अनुभव गरिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्