१४ असार २०८३, आइतबार

कसैको सनक र लहडमा पार्टी एकता भएको होइन - प्रचण्ड

कसैको सनक र लहडमा पार्टी एकता भएको होइन - प्रचण्ड
फाइल फोटो

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताएका छन् ।

इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट पारे ।

'पार्टी एकतालाई हल्का रूपमा नलिनु होला,' अध्यक्ष प्रचण्डले भने, 'एकता भनेको असल नेतृत्व, असल नेता र नेतृत्वशैलीबाट मात्र हुन्छ । त्यो सबै मिलेकै कारण मात्र एकता सम्भव भएको हो ।'

विगतमा कम्युनिष्ट शक्ति विभाजित हुँदा गैर–कम्युनिष्ट शक्तिले प्रभाव जमाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले असल नेतृत्व र नेतृत्वशैलीको प्रभावले गर्दा मात्र एमाले र माओवादीबीच एकता सफल भएको बताए ।

उनले नेपालको कम्युनिष्ट एकताको बारेमा चर्चा गर्दै २०२८ सालदेखिको कम्युनिष्ट आन्दोलन र त्यसबेलाको परिस्थितिपछि राष्ट्र र जनताको मागले गर्दा अहिले आएर एकता सम्भव भएको खुलासा गरे ।

 अध्यक्ष दाहालले विगतमा पनि एकताका प्रयास भए पनि विभिन्न कारणले हुन नसकेको उल्लेख गरे । 'मैले २०५० सालमा पनि तत्कालीन मालेका महासचिव मदन भण्डारीलाई एकताका लागि आग्रह गरेको थिएँ, तर उहाँको असामयिक निधनका कारण एकता हुन सकेन,' प्रचण्डले भावुक हुँदै भने, 'यदि मदन भण्डारी भएको भए एकता पक्कै त्यति बेलै हुन्थ्यो होला ।'

अध्यक्ष प्रचण्डले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए । उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए ।

उनले कार्यकर्तालाई पार्टी एकता नेताले चाहेर मात्र भएको नभई परिस्थिति र असल नेतृत्वका कारण भएको स्पष्ट पारे । 'पार्टी एकता त्यसै भएको छैन, तपाईंहरूले कम्युनिष्ट इतिहास पढ्नु भयो भने मात्र यसको मर्म बुझ्नु हुन्छ,' उनले भने, 'हाम्रो यो एकतालाई विश्वले समेत सराहना गरेको छ, दुई फरक ठूला पार्टी एकता हुने कुरा मामुली रूपमा नलिनु होला ।'

उनले पहिलो संविधान निर्माणका लागि चुनाव लड्दै गर्दासमेत तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालसँग आफूले एकताका लागि आग्रह गरेको तर सम्भव नभएको उल्लेख समेत गरे ।

salt training

कमेन्ट गर्नुहोस्