
काठमाडौं, २२ चैत — देशभर निर्वाचनको माहोल तातिरहेको बेलामा पूर्वको शहर विराटनगरमा पनि चुनावी रौनक छाएको छ । एक नम्बर प्रदेशको लागि निकै महत्वपूर्ण मानिने विराटनगर उपमहानरपालिका चुनावी चर्चा शुरू भएको छ ।
विराटनगरको मेयरको लागि कांग्रेस, एमाले, माओबादी लगायतका ठूला दलहरू मात्रै होइन राप्रपा, फोरम लगायतका साना दलपनि तम्तयार भएर बसेका छन् ।
२ लाख ११ हजार मतदाता रहेको विराटनगर उपमहानर पालिकामा १९ वडा कायम गरिएको छ ।
विरटनगरमा सम्भावित उम्मेदवारहरूको चर्चा समेत शुरू भएको छ । विराटनगरमा राम्रै पकड भएको एमालेमा अगुवा नेता तथा युवाहरूको चर्चा हुन थालेको छ ।
अघिल्लो स्थानीय निर्वाचनमा एमालेले विराटनगरमा मेयर तथा उपमेयरमा विजय हासिल गरेको थियो ।
जिल्लामा एमालेबाट अध्यक्ष विनोद ढकाल, अरु नेताहरु महेश रेग्मी, बाबुराम कार्की, सागर थापा, पारुल क्षेत्री लगायतका नेताहरुको चर्चा हुन थालेको छ ।
उप मेयरमा विमला घिमिरे, सावित्रा रेग्मी, शिल्पा कार्की र पर्शुराम बस्नेत लगायतको चर्चा चुलिएको छ । एमालेको एक नम्बर प्रदेश कमिटिले उम्मेदवारको टुंगो केही दिनमै लगाउने अनुमान गरिएको छ ।
जिल्ला स्तरका नेताहरु मात्रै होइन सामान्य प्रशासन मन्त्री हुँदा राम्रै चर्चा बटुलेका लालबाबु पण्डितको पनि विराटनगर उपमहानरपालिकाको मेयरमा चर्चा सुरु भएको छ ।
लोकान्तरसँगको कुराकानीमा आफू मेयरका लागि आकांक्षी नभएको तर पार्टीले उठाइहालेको अवस्थामा तयार अवस्थामै रहेको बताए । बाहिरतिर अरु कार्यकर्ताहरुले समेत आफ्नो चर्चा गर्न थालेको कुरा आफूलाई जानकारीमा आएको उनले बताए ।
विराटनगर उपमहानरपालिकालाई महानगरपालिका बनाउनको लागि आफूले ठूलो कोशिश गरेको भएपनि त्यो असफल भएको उनको भनाइ छ । ‘त्यो बेला महानगरपालिका बन्यो भने आफूनै मेयर उठ्ने प्रतिबद्धता सहित सहयोग मागेको थिएँ,’ भन्छन्, ‘मेरो चर्चा स्वभाविक नै हो, तर पार्टीले कसलाई उठाउने निर्णय गर्छ त्यसमा भर पर्छ ।’
उनले पार्टीले मोर्चा सम्हाल्ने जिम्मेवारी दिएमा आफू त्यो जिम्मेवारीबाट नभाग्ने बताए । पार्टीले गर्ने निर्णयनै सर्वोपरि हुने उनी बताउँछन् । ‘पार्टीले मेयर उठ्नुहोस् भन्यो भने म नउठ्ने कुरा हुँदैन,’ उनले भने, ‘पार्टीले जित्ने उम्मेदवार उठाउने हो, म उठेपनि जित्नकै लागि उठ्ने हो ।’
को—को छन् लालबाबुसँग भिड्ने ?पण्डित मेयर उठ्छन कि उठ्दैनन् अझै टुंगो त लागेको छैन । तर उनी उठिहालेपनि स्वभावैले अरु प्रतिस्पर्धीहरु पनि हुन्छन् । डिभि तथा पिआरधारी सरकारी कर्मचारीहरुका विरुद्ध धावा बोलेका पण्डित चुनाव उठेमा उनले जित्ने सम्भावना बढी रहने नेताहरु बताउँछन् । तर, उनले कांग्रेस,माओबादी, राप्रपा लगायतका दलका नेताहरुसँग भिड्नु पर्छ ।
नेपाली कांग्रेसबाट विराटनगर उपमहानगरपालिकामा डिना संग्रौला, रुक्मणी कोइराला, नागेश कोइराला, भीम पराजुली, फूलकुमार लालवानी, राजु थापा, मनोज बस्नेत, त्रिलोचन रिजाल, प्रमिला थापा, सुनबहादुर कार्की लगायतका नेताहरुको नाम चर्चामा ल्याइएको छ ।
माओबादी केन्द्रले भने मेयर तथा उप मेयरका उम्मेदवारको टुंगो लगाइसकेको छ । मेयरमा भोगेन्द्र यादव तथा उप मेयरमा नमिता न्यौपानेलाई अघि सारिएको छ । माओबादीले सर्वसम्मत रुपमा उम्मेदवार छानेको हो ।
त्यस्तै मधेशी दलका नेताहरु तथा राप्रपाका नेताहरुको चर्चा पनि गर्न थालिएको छ । तर ठूला दलका अघि साना दलहरु फिक्का हुने विश्लेषण जिल्लामा गरिन्छ ।