काठमाडौँ –बुद्ध एयरमा धनागढीबाट काठमाडौँ आएका पर्यटन, नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराईलाई धनगढी विमानस्थलमा दुर्व्यवहार गरिएपछि भट्टराईले काठमाडौँ आएर मुख खोलेका छन् ।
आफूविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुनेहरू राजावादी समूह रहेको र उनीहरूले पारसका विरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुख दिएको छस् भनेर थर्काएको समेत दाबी गरे ।
सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेख्दै भट्टराईले आफ्नो कारणले यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गरेका छन् ।
‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सवको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाडौँ फर्कने मेरो योजना रहेको थियो,’ भट्टराईले आफ्नो स्ट्याटसमा भनेका छन्, ‘तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कने क्रममा केहि ढिला हुन गएको सत्य हो ।’
आफू १५ मिनेट मात्र ढिला भएको दाबी गर्दै भट्टराईले भने, ‘सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिएँ ।’
आफ्नो विरोध गर्नेहरू राजावादी समूह भएको आरोप उनले लगाए । ‘नेपालगंज विमानस्थलमा ३/ ४ जना व्यक्तिहरू आक्रमक शैलीमा मेरा विरुद्ध प्रस्तुत हुनुभयो,’ उनले भने, ‘एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु ।’