
काठमाडौं – स्पेनको भुएलिङ एयरलाइनको भीवाई२११८ विमान मालागाबाट बार्सिलोना जाँदै गर्दा क्याबिनमा धूवाँ भरिएपछि आकस्मिक अवतरण गराउनुपरेको छ ।
घटना शुक्रवार मध्यरातमा भएको हो । आकस्मिक अवतरणपछि चिप्लेटी निकालिएको थियो तर त्यो एकै ठाउँमा नअडिएपछि यात्रुहरूले दह्रो गरी समात्नुपरेको थियो ।
एल प्रात विमानस्थलमा खिचिएको भिडियोमा मानिसहरू विमानबाट निस्कन खोजेको अनि चिप्लेटी यताउता हल्लिएको देखिन्छ ।
एक यात्रु हाभिएर काल्देरोनले चिप्लेटी समातेर मात्र यात्रुहरूलाई ओराल्न सकिएको बताए । विमान कर्मचारीहरूले लापरलुपर काम गरेको तर रायनएयरका दुई कर्मचारीले सहयोग गरेको उनले बताए ।
एल प्रात विमानस्थल बार्सिलोनाको केन्द्रबाट १२ किलोमिटर टाढा छ ।
थुप्रै मानिस विमान वरिपरि हिँडिरहेको देखिन्छ भने अन्यले चिप्लेटी समातेको र यात्रुहरू चिप्लेर झरिरहेको देखिन्छ ।
भुएलिङ कर्मचारीले विमान कुनै समस्याविना नै अवतरण गरेको अनि बाहिर निस्कनका लागि चिप्लेटी निकालिएको बताए ।
काल्देरोनका अनुसार, आकस्मिक अवतरण गर्नुभन्दा २० मिनटअघि क्याबिनमा धूवाँ देखिएको बताए ।
विमान कर्मचारीले यात्रुहरूलाई हातले नाकको प्वाल थुन्न र टाउको झुकाएर बस्न भनेको काल्देरोनले बताए ।
विमान अवतरण गर्दासम्म क्याबिनमा निकै धूवाँ भरिएको र अनेकौं यात्रुहरू तर्सेर होश गुमाउने स्थितिमा पुगेको बताइएको छ ।
यात्रुहरूलाई बिहान ३ बजेसम्म विमानस्थलमा राखिएको थियो ।
भुएलिङ र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । के कारणले धूवाँ आएको हो भन्ने प्रस्ट छैन ।
एजेन्सी